ओमिक्रोन संक्रमण बढेपछि मुम्बईमा दुई साता निषेधाज्ञा जारी

बाँके, २ पुस, २०७८ ।
भारतको मुम्बईमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित बढ्दै गएपछि दुई साता निषेधाज्ञा जारी गरिएको छ । ओमिक्रोन भेरियन्टका संक्रमित बढ्दै गएपछि जटिल अवस्था आउन नदिन मुम्बईमा दुई साता निषेधाज्ञा घोषणा गरिएको भारतीय संचार माध्यमले जनाएकाछन् । क्रिसमस र नयाँ वर्ष नजिकै आएकोले भिड्भाड भई ओमिक्रोनको जोखिम बढ्न गई संक्रमण दर बढ्ने भन्दै डिसेम्बर १६–३१ सम्म निषेधाज्ञा जारी भएको मुम्बई प्रहरीले जनाएको छ ।
बिहिबारदेखि सुरु भएको निषेधाज्ञा पालना नगरे कडा कारबाही गर्ने मुम्बई प्रहरी निरीक्षण नासिर कुलकर्नीले बताए । बुधबार एकैदिन सातजनामा ओमिक्रोन पुष्टि भएपछि निषेधाज्ञा गरेको प्रशासनले जनाएको छ ।
निषेधाज्ञाभर ठूला जमघट गर्न नपाइने, सार्वजनिक भेटघाटमा पाँच जनाभन्दा बढी सहभागी हुन नपाउने र समारोह वा कार्यक्रम गर्दा ५० प्रतिशत क्षमताअनुसार सहभागी गराउनुपर्ने र आयोजकले पूर्ण कोरोना खोप लगाएको हुनुपर्ने छ । यस्तै महाराष्ट्रमा आउनेले समेत पूर्ण खोप लगाएको हुनुपर्ने र ७२ घन्टाभित्रको नेगेटिभ पिसिआर रिपोर्ट देखाउनुपर्ने प्रावधान राखिएको छ । निषेधाज्ञा अवधिमा पसल, मल, समारोह वा जमघटमा सहभागी र सार्वजनिक सवारीमा यात्रा गर्ने मानिसले समेत पूर्ण खोप लगाएको हुनु पर्नेछ । भारतमा हालसम्म ७३ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

Previous articleसाक्षर नगर बनाउन नेपालगन्जलाई संघीय सरकारको दवाव
Next articleमिश्राको अध्यक्षतामा नेपाल निजामती कर्मचारी संगठन नरैनापुर गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here