बाँके, १ पुस, २०७८ ।
बाँकेका १८ बर्ष माथिका चार लाख ३६ हजार ७०८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । उक्त उमेर समुहका कुल चार लाख ६ हजार १६५ जना लक्षित समुह रहेकोमा दुई लाख ४७ हजार ६७५ जना (६१.९%) ले कोरोना विरुद्धको पहिलो मात्रा लिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
उनले एक लाख ८९ हजार ३३ जना (४६.५%) ले कोभिड विरुद्धको दोस्रो मात्रा लिएको जानकारी दिए । कोभिड विरुद्धको खोप लगाउन छुट भएकालाई पनि अभियान मार्फत समेटिएको उनले बताए ।
उनले २३–२५ मंसिरसम्म खोप अभियान संचालन गरिएको बताए । बाँकेका चार वटा पालिकामा संचालन भएको खोप अभियानमा सवैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकाका सर्वसाधारणले खोप लगाएका छन् ।
उनका अनुसार, नेपालगन्जका ९ हजार ३३५, कोहलपुरका सात हजार ७१०, जानकीका चार हजार पाँच सय र खजुरा गाउँपालिकाका ६ हजार ३२९ गरि २२ हजार ७८ जनाले पहिलो र पाँच हजार ७९६ जनाले दोस्रो मात्रा लिएका छन् । उनले बैजनाथ, राप्तिसोनारी, डुडुवा र नरैनापुर अन्तर्गतका स्वास्थ्य संस्था मार्फत १८ बर्ष माथीका सबैलाई पहिलो र दोस्रो मात्राको कोभिड खोप लगाउने अभियान जारी रहेको बताए ।