कांग्रेसको नेतृत्व फेरि देउवाकै काँधमा

बाँके, २९ मंसिर, २०७८ ।


प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएका छन् । १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार भएको दोस्रो चरणको मतदानमा २ हजार ७ सय ३३ मत प्राप्त गर्दै उनी सभापतिमा दोहोरिएका हुन् ।
देउवाले कुल खसेको मतको ५९.१२ प्रतिशत मत पाउँदा उनका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १ हजार ८ सय ५५ अर्थात् ४०.१३ प्रतिशत मत पाए । कुल खसेको ४६ सय २३ मतमध्ये ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
०७२ मा भएको १३औँ महाधिवेशनबाट देउवा पहिलोपटक सभापति निर्वाचित भएका थिए । पार्टीभित्र लामो अन्तर्संघर्ष गर्दै उनी नेतृत्वमा पुगेका थिए । ०६७ मा काठमाडौंमा भएको १२ औँ महाधिवेशनमा सुशील कोइरालासँग ३३५ मतले पराजित भएका देउवा ०५७ मा पोखरामा सम्पन्न नवाँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए ।
पहिलो चरणमा प्रतिस्पर्धामा उत्रिएका पाँच उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवार देउवा र कोइरालाबीच दोस्रो चरणको निर्वाचन भएको थियो । कुल चार हजार सात सय ४३ मतदातामध्ये पहिलो चरणमा चार हजार ६ सय ७९ मत खसेको थियो, जसमा देउवाले दुई हजार दुई ५८ अर्थात ४८.२५ प्रतिशत मत पाएका थिए । जितका लागि उनलाई ८२ मत अपुग भएको थियो । दोस्रो चरणमा देउवाले नौ सय सात मतान्तरले जित निकालेका छन् ।
पहिलो चरणमा सभापतिका अन्य प्रत्याशी प्रकाशमान सिंहले तीन सय ७१, विमलेन्द्र निधिले दुई सय ५० र कल्याण गुरुङले २२ मत पाएका थिए ।

Previous articleअस्पतालजन्य फोहर ब्यवस्थापनका लागि प्रशोधन केन्द्र संचालनको तयारी
Next articleसरकारले रकम रोक्दा कैलाश कोल्ड स्टोरेज निर्माण अधुरो : बाँकेका पाँच हजार किसान मर्कामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here