बाँके, २५ मंसिर, २०७८ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेको अध्यक्षमा भगतराम थारु सर्वसम्मत चयन भएका छन् । नेपालगन्जमा शनिवार भएको छैठौं अधिवेशनले थारुलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिवेशनले थारुको नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन अधिकृत पूर्णलाल चुकेले जानकारी दिए ।
समितिको उपाध्यक्षमा सोम गुरुङ चयन भएका छन् । भने, सचिबमा लक्ष्मी चौधरी, सह–सचिवमा सुमन श्रेष्ठ र कोषाध्यक्षमा दिपक राई चयन भएको उनले बताए ।
त्यसैगरी, अधिवेशनले अशोक थापा, सुबिता थारु, रुपा चौधरी, सुष्मा श्रेष्ठ, मस्तीराम चौधरीलाई सदस्यमा चयन गरेको छ । पछि तीन जना थप गरि १३ सदस्यीय बनाइने निर्वाचन मण्डलका सदस्य गजेन्द्र गुरुङले बताए ।
अधिवेशनले ८ जना प्रदेश महाधिवेशन र ५ जना संघीय महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।
फोनिजले शनिवार देशैभर जिल्ला अधिवेशन गर्ने, २४ पुसमा प्रदेश र ७–८ माघमा संघीय महाधिवेशन गर्ने निर्णय गरेको छ । फोनिजको हालसम्म ५४ जिल्ला शाखा, ७ प्रदेश र ५ बिदेश शाखा रहेको छ ।