बाँकेका उद्यमी महिलाको सक्रियता : पाँच बर्षमा २२ करोडको खसी विक्री

बाँके, २२ मंसिर, २०७८ ।


बाँकेका बाख्रापालक महिलाले २१ करोड ७५ लाख ७९ हजार रुपैँयाका खसी, बोका विक्री गरेका छन् । पाँच बर्ष अघि स्थापना भएको सामाजिक उद्यमी जिल्ला सहकारी संघमा आवद्ध बाख्रापालका महिलाले पाँच बर्षमा १८ हजार तीन सय २८ वटा खसी, बोका विक्री गरेको संघका ब्यवसायिक प्रवन्धक नविनकुमार साहुले बताए ।
उनले १७ वटा सामाजिक महिला उद्यमी सहकारीमा आवद्ध ५८३ वटा समुहका १३ हजार पाँच सय महिलाले यस अवधिमा पाँच लाख ३५ हजार ६ सय ७६ किलो बराबरको खसी, बोका विक्री गरेको बताए ।
सहकारीमा आवद्ध महिलाले उत्पादन भएका खसी, बोका, काठ्माडौँ, पोखरा लगायत अन्य सहरमा जाने गरेको छ । सहकारीको सदस्य भएपछि अन्दाजको भरमा खसी विक्री गर्ने महिलाले अहिले तौलको आधारमा विक्रि गर्न थालेका छन् । तौल गरेर विक्री गर्न थालेपछि बाख्रापालक महिलाहरु ठगिनबाट जोगिएका छन् । तौल गरेर विक्री गरेपछि चार करोड ३५ लाख १५ हजार ८३२ रुपैँया बचत गरेको साहुले बताए ।
बाँकेको राप्तीसोनारी, बैजनाथ, खजुरा, कोहलपुर र जानकीका महिलाले ब्यवसायिक रुपमा बाख्रा पालन गरेका छन् । यी ठाउँका महिलाले दसैँ र तिहारमा मात्र एक करोड १८ लाख मूल्यको खसी, बोका विक्री गरेको संघका अध्यक्ष बसन्ती सुनारले बताइन् । उनले दसैँमा १३ सय खसी विक्री गर्ने लक्ष्य लिइएको थियो । ‘यस बर्षको दसैँ र तिहारमा यहाँका महिलाले आठ सय १५ वटा खसी विक्री गरेका छन्,’ उनले भनिन् ।
महिलाले उत्पादन गरेका खसी, बोका २५–६५ किलो तौलका छन् । महिलाले खसीको तौल अनुसार मूल्य पाउँछन् । जति ठूलो खसी उति धेरै मूल्य पाउने गरेको अध्यक्ष सुनारले बताइन् । उनले प्रति किलो ५१०–५४० रुपैँयामा संघले नै खसी खरिद गरिदिने गरेको स्पष्ट पारिन् । ‘हामीले सदस्य महिलासँग खरिद गरि प्रतिकिलो १५ रुपैँया नाफा खाएर बजारमा विक्रि गर्छौँ,’ ब्यवस्थापक साहुले भने ।
बाँकेमा ५–५० वटा बाख्रा पालन गर्ने ९ हजार महिला किसान रहेको संघले जनाएको छ । सहकारीमा आवद्ध यी महिलाले मासिक बचत गर्ने र ब्यवसायका लागि ऋण लिने गर्दै आएका छन् ।

Previous articleतीनै तहको निर्वाचनमा सहभागिता खोज्दै द्वन्द्व पीडित र एकल महिला
Next articleविहीवार (भोली) नेपालगन्जमा ‘नेपालगन्ज वाकाथन’ हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here