तीनै तहको निर्वाचनमा सहभागिता खोज्दै द्वन्द्व पीडित र एकल महिला

बाँके, २२ मंसिर, २०७८ ।


आगामी हुने तीनै तहको निर्वाचनमा एकल तथा द्वन्द्व पीडित महिलाको सहभागिता र नेतृत्वका लागि नेपालगन्जमा तीन दिने अभिमुखिकरण तालिम सुरु भएको छ । आगामी तीनै तहको निर्वाचनलाई लक्षित गरि द्वन्द्व पीडित तथा एकल महिला संजालले बाँकेले अभिमुखिकरण तालिम आयोजना गरेको हो ।
तालिम उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले संघीयता लागू भएपछि भएको पहिलो निर्वाचनमा महिलाको उपस्थितिमात्र भए पुगेको भए पनि अव नेतृत्व नै चाहिने बताइन् । उनले महिलालाई तल्लो तहमा सिमित राख्ने पुरुषबादी सोँचका कारण अघिल्लो निर्वाचनमा महिलाले उपप्रमुखमा सिमित हुन परेको जिकिर गरिन् ।


उनले अव महिला सक्षम भइसकेकोले उपप्रमुखमा सिमित नहुने भन्दै नेतृत्व चाहिएको धारणा राखिन् । ‘सभागिताका नाममा महिलालाई निर्वाचनमा सहभागी गराउन भएन । अव महिलालाई नेतृत्व चाहिन्छ, तर त्यसका लागि महिलाले पनि नेतृत्व विकास गर्न र सक्षम हुन जरुरी छ,’ उनले भनिन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले महिला सहभागिता भए पनि नेतृत्वदायी भूमिकामा नभएको बताए । उनले अव महिलालाई उपप्रमुखमा सिमित राख्न नहुने बताए । ‘कानुन पालना गरेको जस्तो मात्र देखिन्छ । पुरुषलाई नेतृत्व दिएर महिलालाई उपप्रमुखमा सिमित राखेको स्पष्ट देखिन्छ,’ उनले भने ।


नेपालगन्ज उपमहानगरपालिका महिला शाखा प्रमुख शोभा शाहले नेतृत्व लिन महिलाहरु आफैमा सक्षम हुनुपर्ने बताइन् । संजालका अध्यक्ष जयन्ती खत्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा द्वन्द्व पीडित तथा एकल महिला संजालका केन्द्रिय उपाध्यक्ष शोभा विसी, गैरसरकारी संस्था महासंघ बाँके सचिव आशिष बर्मा लगायतले विचार राखेका थिए । तालिममा २० जना महिलाको सहभागिता रहेको छ । तालिममा मानवअधिकारकर्मी प्रकाश उपाध्याय र निर्वाचन कार्यालयका प्रमुख खुमप्रसाद सुवेदीले सहजीकरण गरिरहनु भएको छ ।

Previous articleभारतबाट ल्याउँदै गरेको दुई लाख मुल्य पर्ने अबैध सामान बरामद
Next articleबाँकेका उद्यमी महिलाको सक्रियता : पाँच बर्षमा २२ करोडको खसी विक्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here