द्वन्द्व प्रभावित महिलाको माग : सत्य निरुपण तथा मेलमिलाप आयोगले काम अगाडी बढावस्

बाँके, २० मंसिर, २०७८ ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले काम अगाडी बढाउन नसक्दा द्वन्द्व प्रभावित महिलाहरु न्यायबाट बञ्चित भएको बताइएको छ । द्वन्द्व पीडितको न्यायका लागि गठन भएको आयोग लामो समयसम्म कामविहिन हुँदा न्याय पाउने आशा मर्दै गएको बाँकेका द्वन्द्व पीडित महिलाले गुनासो गरेको द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँके अध्यक्ष जयन्ती केसीले बताइन् । उनले न्यायका लागि आयोगले काम अगाडी बढाउनुपर्ने माग गरिन् । ‘आयोगले काम अगाडी नबढाउँदा न्यायबाट बञ्चित भइने हो की भन्ने आशंका उब्जेको छ,’ उनले भनिन् ।
राप्तीसोनारी गाउँपालिकाको अगैयामा आयोजित ‘सत्य निरुपण तथा मेलमिलापमा द्वन्द्व प्रभावित महिलाहरुको न्यायमा पहुँच’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संजालका केन्द्रिय उपाध्यक्ष शोभा विसीले उद्देश्य अनुरुपको काम आयोगले गर्न नसक्दा पीडामाथि पीडा थपिएको बताइन् । उनले आयोग गठन गरेर द्वन्द्व पीडितलाई अल्झाउने काममात्र भएको जिकिर गरिन् । ‘न्याय दिन नसक्ने आयोगको के काम ? आयोगलाई कार्यकर्ता भर्ती केन्द्रको रुपमा सिमित गर्ने हो भने बन्द गर्दा हुन्छ,’ उनले भनिन् ।


राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले द्वन्द्व पीडित महिलाका लागि गाउँपालिकाले विशेष योजना बनाएको बताउँदै नयाँ कार्यक्रम गरि थप सहयोग प्रदान गर्ने आश्वासन दिइन् । उनले अधिकारका लागि द्वन्द्व पीडित महिला आफै जागरुक हुनुपर्ने बताउँदै अधिकार मागेर नपाइने भएकोले लडेर लिन सुझाव दिइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर शाहीले द्वन्द्व पीडित तथा एकल महिलामाथि अनेकौ किसिमका हिंसा हुने गरेको बताउँदै हिंसाबाट जोगिन सजग हुन सुझाव दिए ।
५० जना महिलाको सहभागिता रहेको कार्यक्रममा गाउँपालिकाका महिला सहायक निरीक्षक सम्झना दलामी लगायतले विचार राखेको सचिव विजया रोकायले जानकारी दिइन् । कार्यालय सचिव आरती केसीले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष विन्दा खरेलले गरेकी थिइन् ।

Previous articleदिवसको अवसरमा नेपालगन्जका स्वयमसेविकालाई सम्मान (फोटो फिचर)
Next articleभारतबाट ल्याउँदै गरेको दुई लाख मुल्य पर्ने अबैध सामान बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here