पक्की घरमा बस्ने कुच्बधियाको सपना अधुरै

शौचालय बनाउनका लागि जनता आवास कार्यक्रमले दिने भनेको रकम नपाएपछि शौचालयमा शौच गर्ने सपना अधुरै ।

बाँके, १८ मंसिर, २०७८ ।


जानकी गाउँपालिका ३, इन्द्रपुरका पट्वारी कुच्बधियाले तीन बर्षअघि जनता आवास कार्यक्रमबाट पक्की घर बनाउने रकम पाए । उनले दुई कोठा, एक भान्सा र एक बरण्डा बनाउनका लागि जनता आवास कार्यक्रमबाट दुई लाख १५ हजार रुपैँया पाउने सहमति भयो । उनले दुई किस्तामा रकम पाए, तर उनको घर अझैँ अधुरो छ । सम्झौतामा शौचालय निर्माण पनि प्राथमिकतामा थियो ।
कुच्बधिया टोलका १५ घरले जसोतसो जस्ता पाताले छाएको पाको इँटाको घर ठड्याए, तर अहिलेसम्म घर भित्र र बाहिर प्लास्टर भएको छैन । शौचालय पनि अधुरै छन् । घरको प्लास्टर, रंगरोगन र शौचालय बनाउने पनि सम्झौता पत्रमा उल्लेख थियो । ‘सरकारले दुई लाख १५ हजार रुपैँया दिने भनेको थियो । १५ हजार रुपैँया रोकेका कारण शौचालय अधुरै छ । घर निर्माण त भयो, तर प्लास्टर र रंगरोगन गर्न र शौचालय बनाउन सकिएको छैन,’ पट्वारीले भने ।
शौचालय बनाउन नसक्दा इन्द्रपुरस्थित कुच्बधिया टोलका ४६ परिवारका झण्डै तीन सय जना खुला ठाउँमा शौच गर्दै आएका छन् । उक्त टोलका कसैको घरमा शौचालय नभएको स्थानीय मञ्जु कुच्बधियाले बताइन् ।
शौचालय बनाउनका लागि जनता आवास कार्यक्रमले दिने भनेको रकम नपाएपछि शौचालयमा शौच गर्ने सपना अधुरै रहेको उनले बताइन् । गर्मी र हिउँदमा शौच गर्न समस्या नभए पनि बर्षातका बेला हैरानी खेप्न परेको उनको भनाई छ । ‘शौचका लागि अरहर बारी र धान खेतको सहारा लिनुको विकल्प छैन,’ उनले भनिन् ।
उज्यालोमा पुरुषहरुले देख्ने भएकोले झिसमिसेमै शौच गर्नुपर्ने बाध्यता रहेको सोना कुच्बधियाले गुनासो गरिन् । उनले दिसा गर्दागर्दै उठेर भाग्नुपर्ने समस्या झेल्दै आएको बताइन् । ‘शौचालय नभएकोले खुला ठाउँमा दिसापिसाव गर्नुपर्ने हुन्छ । पुरुष र अपिरिचित ब्यक्ति आएपछि दिसा गर्दागर्दै उठेर भाग्नु पर्ने हुन्छ,’ उनले भनिन् ।
शौच गर्दा पुरुषलाई देख्दा महिला र महिला देख्दा पुरुष भाग्नुपर्ने अवस्था रहेको रामसागर कुच्बधियाले बताए । उनले शौचालय नभएकोले घर वरिपरि समेत दुर्गन्धित हुने गरेको बताए ।

Previous articleधरासायी बन्दै कपास विकास समिति
Next articleदिवसको अवसरमा नेपालगन्जका स्वयमसेविकालाई सम्मान (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here