‘ओमिक्रोन’ संक्रमण भित्रिन नदिन नाकामा कडाई : मास्क नलगाएकालाई नेपाल–भारत प्रवेशमा रोक

बाँके, १६ मंसिर, २०७८ ।


भारतमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमित फेला परेपछि नेपाल–भारत सीमा क्षेत्रमा रहेका दुवै देशका सुरक्षाकर्मीले कडाई गरेका छन् । सीमामा रहेको भारतीय सशस्त्र सुरक्षा बल एसएसवीले मास्क नलगाएका सर्वसाधारणलाई जान प्रतिवन्ध लगाएको छ ।
त्यसैगरि, नेपाल आउने भारतीयलाई पनि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाएर आउने भारतीयलाई त्यतै फिर्ता पठाउने गरेको इलाका प्रहरी कार्यालय जमुनाहको इन्चार्ज सई मिनबहादुर विष्टले बताए । ‘यता आउनेलाई नेपालका सुरक्षाकर्मीले र उता जाने नेपालीलाई भारतीय सुरक्षाकर्मीले कडाई गर्ने सहमती भएको छ,’ उनले भने ।
उनले लखनऊ र त्यो भन्दा टाढाबाट आउने भारतीयलाई कोरोना जाँच गराएर मात्र नेपाल प्रवेश गर्न दिइएको बताए ।
कामका लागि भारतका विभिन्न सहर पुगेर स्वदेश फर्किने सवै नेपालीको एन्टिजेन प्रविधि मार्फत कोरोना जाँच गर्न थालिएको छ । यो भन्दा पहिले समुहमा रहेका पाँच जना मध्ये एक जनाको मात्र कोरोना जाँच गरिन्थ्यो ।
स्वास्थ्य सेवा विभागले नाकामा रहेका हेल्थ डेस्कलाई भारतबाट फर्किने नेपालीको कोरोना जाँच गर्न निर्देशन दिएपछि काम गरेर फर्किने सवै नेपालीको कोरोना जाँच गर्न थालिएको हेल्थ डेस्क इन्चार्ज गीता गिरि शाहीले बताइन् । उनले पहिले समुहमा भएका एकजनाको मात्र जाँच गरे पनि पछिल्लो समय सवैको जाँच गर्न थालिएको बताइन् । ‘कसैलाई नछुटाएर जाँच गर्न निर्देशन छ,’ उनले भनिन्, ‘एकैसाथ धेरै जना आउँदा भीडभाड सम्हाल्न गाह्रो हुन्छ ।’
बुधवार दुई सय तीन जनाको एन्टिजेन मार्फत कोरोना जाँच गरिएको छ । यसअघि दैनिक ४०–४२ जनाको मात्र कोरोना जाँच हुने गरेको थियो । पछिल्लो समय दैनिक सरदर दुई जनाको कोरोना जाँच हुन थालेको उनको भनाई छ । ‘भारतबाट फर्किने सवै नेपालीको कोरोना जाँच गर्छौँ, तर यात्रुको तुलनामा जनशक्ति एकदमै थोरै छौँ, तै पनि पालैपालो जाँच गरेर पठाउने प्रयासमा छौँ,’ उनले भनिन् ।
हेल्थ डेस्क भित्र छिरेको एक घण्टा मिनेट भित्र कोरोना जाँच भई रिपोर्ट दिने गरेको उनले जिकिर गरिन् । जतिसक्दो छिटो रिपोर्ट दिएर गन्तब्यतर्फ पठाउने हाम्रो प्रयास रहन्छ,’ शाहीले भनिन् ।


कोरोना रिपोर्ट भएकालाई मात्र नेपाल प्रवेश अनुमति
कोरोना रिपोर्ट हेरेर मात्र कामका लागि भारत गएर फर्किने नेपालीलाई नेपाल प्रवेश गर्न दिएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) मिनबहादुर विष्टले बताए । उनले भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेपछि नाकामा कडाई गरिएको बताए । ‘एन्टिजेन रिपोर्ट भएकालाई मात्र नेपाल प्रवेश गर्न दिन्छौँ, नभएकालाई कोरोना जाँचका लागि हेल्थ डेस्कमा पठाउँछौँ,’ उनले भने, ‘भारतबाट ओमिक्रोन भित्रिन नदिन केन्द्रबाट आएको निर्देशन अनुसार कडाई गरिएको छ ।’
नेपालगन्ज नाकाबाट पछिल्लो समय दैनिक १५०–२०० नेपाली स्वदेश फर्किने गरेको उनले बताए । तर, यो संख्या पहिलेको भन्दा धेरै हो । दसैँ, तिहारपछि दैनिक १००–१५० नेपाली आउँथे । अहिले स्वदेश फर्किनेको संख्या केहि बढेको छ,’ सई विष्टले भने ।

Previous articleबाँकेमा बढ्दै एचआइभी संक्रमित, पछिल्लो एक बर्षमा ११७ थपिए
Next articleधरासायी बन्दै कपास विकास समिति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here