राप्तीसोनारी गाउँपालिका वडा नं. ६ बालविवाह मुक्त

बाँके, १३ मंसिर, २०७८ ।


राप्तीसोनारी गाउँपालिका ६, फत्तेपुरलाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । बालविवाह गर्ने क्रम घटेपछि वडालाई बालविवाह मुक्त घोषणा गरिएको वडा अध्यक्ष जनकबहादुर थारुले बताए । घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष थारुले बालविवाहले पार्ने असरका बारेमा सचेतना फैलिएमात्र न्यूनिकरण हुने बताए । ‘सानै उमेरमा विवाह गरिदिने परम्परामा परिवर्तन आउँदैमा हुँदैन, बालविवाह गर्न हुन्न भन्ने चेतनाको विकास भएमात्र बालविवाह न्यूनीकरण हुने छ,’ उनले भने ।
राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले बढ्दो बालबिवाह न्यूनीकरणका लागि गाउँपालिकाले कडा रणनीति लिएको पनि बताइन् । बालबिवाह गर्ने बालबालिका र अभिभावकलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धीत निकायलाई सिफारिस गरिएको बताउँदै उनले बालबिवाह गर्ने–गराउनेलाई गाउँपालिकाले दिने सेवासुविधाबाट समेत बञ्चित गरिने बताइन् । ‘बालबिवाह गरेमा जन्मदर्ता, नागरिकता सिफारिस लगायतका अन्य सेवाहरुबाट बञ्चित गरिनेछ,’ उनले भनिन् ।
बालविवाह न्यूनीकरणका लागि शिक्षा र सचेतना महत्वपूर्ण रहेको पनि उपाध्यक्ष खत्रीले बताइन् । ‘परम्परागत मान्यता, अशिक्षा, गरीबी र प्रविधिको दुरुपयोगका कारण बालविवाह चुनौतीका रुपमा रहेको छ,’ उपाध्यक्ष खत्रीले भनिन्, ‘गाउँपालिकाले बालमैत्री अभियानहरु सञ्चालन गर्दै बालविवाह मुक्त गाउँपालिका घोषणाका लागि निरन्तररुपमा लागिरहेको छ ।’
पुरानो परम्पराका कारण बालविवाह हुने गरे पनि यसमा कुनै धार्मिक कारण नरहेको बताउँदै उपाध्यक्ष खत्रीले सामाजिक मूल्य, मान्यता र अन्धविश्वासलाई परिवर्तन गर्दै बालबिवाह मुक्त गाउँपालिका बनाउन अभियान अनुसार नै वडा नं. ६ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको बताइन् । राप्तीसोनारीको वडा नं. ३ र ७ लाई यसअघि नै बालबिवाह मुक्त वडा घोषणा गरिएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लोबहादुर शाहीले बालविवाह गर्ने–गराउने सामाजिक कुरिती र प्रचलन कम भएर वडा नं. ६ लाई बालबिवाह मुक्त घोषणा गरिनु निकै सकारात्मक पक्ष रहेको बताए । उनले समाजमा चेतना र शैक्षिकस्तर बढेसँगै सामाजिक कुरितीहरु पनि हट्दै गएको बताए । उनले अहिले घरपरिवारका सदस्यले भन्दा आफूखुसी बालविवाह गर्ने क्रम बढेको उनको भनाई थियो । ‘पहिले घरपरिवारले जबर्जस्ती विवाह गरिदिन्थे, अहिले बालबालिका आफँै भागेर विवाह गर्न थालेका छन्,’ उनले भने ।
स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले कठीन चुनौतीका बीच वडालाई बालबिवाहमुक्त घोषणा गर्न सफल भएको बताए । बालबिवाहमुक्त वडा घोषणा गर्न अपनाउनुपर्ने सबै मापदण्ड पुरा गरेपछि वडा नं. ६ लाई औपचारिक रुपमा बालबिवाहमुक्त वडा घोषणा गरिएको उनको भनाई थियो ।
प्लान, स्याक नेपाल लगायत संघ संस्थासँगको सहकार्य तथा समन्वयमा वडालाई बालबिवाहमुक्त घोषणा गरिएको हो ।

Previous articleकोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन नाकामा कडाई गर्न निर्देशन
Next articleबाँकेमा बढ्दै एचआइभी संक्रमित, पछिल्लो एक बर्षमा ११७ थपिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here