कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन नाकामा कडाई गर्न निर्देशन

बाँके, १३ मंसिर, २०७८ ।
भारतमा पनि कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपाल–भारत सीमा नाकामा निगरानी बढाउन स्वास्थ्य सेवा विभागले निर्देशन दिएको छ । कामका लागि भारतबाट फर्किने नेपालीको एन्टिजेन मार्फत कोरोना परीक्षण गर्न र फेला परेका संक्रमितलाई थप परीक्षणका लागि नमुना संकलन गरि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन नाकामा रहेका हेल्थ डेस्कलाई निर्देशन दिएको हो । ‘नाकामा रहेका हेल्थ डेस्कले कोरोना भाइरस फैलिन नदिन पुर्याएको योगदान सह्रानिय छ । तै पनि भारतमा समेत देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘मोमिक्रोन’ लाई नेपाल प्रवेश गर्न नदिन थप सजगता अपनाउन जरुरी देखिएको छ,’ विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले जारी गरेको पत्रमा उल्लेख छ ।
कोरोना भाइरसको ‘जिन सिक्वेसिङ’ का लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरि नमुना पठाउन निर्देशन गर्दै विभागले केन्द्रिय प्रयोगशालालाई नाकास्थित हेल्थ डेस्कबाट आएका नमुनाको जिन सिक्वेसिङको ब्यवस्था गर्न भनेको छ । त्यसैगरि, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई नाकाबाट आएका नमुनालाई केन्द्रिय प्रयोगशालामा पठाउन समन्वय र सहजीकरण गर्न विभागले भनेको छ । भने, प्रादेशिक स्वास्थ्य आपतकालिन केन्द्रलाई संकलित नमुनालाई यथाशक्य चाँडो केन्द्रिय प्रयोगशालामा पठाउने ब्यवस्था मिलाउन पत्राचार गरेको छ ।
नेपालमा अझैँ पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन पुष्टि नभएको बताएका छन् । उनले नेपालमा अहिलेसम्म नदेखिए पनि फैलने सक्ने सम्भावना रहेको बताए । ‘नेपालमा पनि उक्त भाइरस फैलिने सम्भावना उच्च छ,’ सहप्रवक्ता डा. अधिकारीले भने ।
उनले ओमिक्रोन भाइरस फैलिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकामा निगरानी बढाएको बताए । विमानस्थल र नाकामा रहेका हेल्थ डेस्कलाई विदेशबाट आउने व्यक्तिमा ओमिक्रोन भाइरसको संक्रमण छ, छैन भनेर जाँच गर्न निर्देशन दिएको बताए ।
ओमिक्रोन भाइरस नयाँ भएकाले यो कति दूर्तगतिमा फैलिन सक्दछ र यसले कस्तो असर पार्दछ भनेर अध्ययन हुन बाँकी नै छ ।

Previous articleनेपाली काँग्रेस दाङ सभापतिमा संस्थापन इतरका शंकर डाँगी निर्वाचित
Next articleराप्तीसोनारी गाउँपालिका वडा नं. ६ बालविवाह मुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here