प्रधान न्यायाधीश जवरामाथि महाअभियोग लगाउन १७ अभियोग तयार

बाँके, ८ मंसिर, २०७८ ।


पूर्व प्रधान न्यायाधिवक्ता रमणकुमार श्रेष्ठले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवराको नियुक्ती नै सौदावाजीबाट भएको आरोप लगाएका छन् । उच्च अदालत बार एसोसियसन नेपालगन्जले बुधवार नेपालगन्जस्थि उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलाशमा गरेको विरोध कार्यक्रममा नेपाल बारका पूर्व महासचिव समेत रहेका बरिष्ठ अधिवक्ता श्रेष्ठले न्यायाधीश हुनुअघि जवरा काठ्माडौँ महानगरपालिकाको सुब्बा रहेको बताउँदै उनले सौदावाजीबाट आएको ब्यक्तिले सौदावाजी गर्दै राज्यको संवैधानिक अंग लगायत सरकारमा समेत भाग खोजेको आरोप लगाए । ‘राज्य र सरकारमा भाग खोज्ने ब्यक्ति प्रधान न्यायाधीशमा बसिरहन सक्दैन । उहाँ (चोलेन्द्र) अव प्रधान न्यायाधीश भन्दा राजनीतिक दलको नेता भइसक्नु भयो,’ उनले भने, ‘प्रधान न्यायाधीशकै कारण न्यायपालिकाको बदनाम भएको छ । न्यायालिका सौदावाजी गर्ने थलो भएको छ ।’


उनले राजनीतिक दलको कमजोरीको फाइदा जवराले उठाएको बताउँदै न्याय परिषदमा भूमिका नभए पनि दलहरुको निर्णयमा सहमती जनाउने शर्तमा भाग खोज्ने गरेको आरोप लगाए । उनले न्यायाधीशहरुलाई सरुवा गर्न प्रधान न्यायाधीशको सक्रियतामा विचौलियाले काठ्माडौँमा कार्यालय खोलेर बसेको आरोप लगाए ।
जवराकै कारण न्यायाधीशहरुको किनबेच भइरहेको आरोप समेत लगाए । ‘कुन न्यायाधीशलाई कहाँ सरुवा गर्ने, न्याय किनबेच गर्ने काम कार्यालय खोलेर बसेका विचौलियाबाट हुने गरेको छ । यो भन्दा दुर्भाग्य अरु हुन सक्दैन,’ उनले भने ।
उनले प्रधान न्यायाधीशमाथि महाअभियोग लगाउन नेपाल बारले १७ वटा अभियोग तयार पारिसकेको खुलासा गरे । महाअभियोग लगाउन राजनीतिक दलहरुसँग छलफल भइरहेको उल्लेख गर्दै उनले प्रधान न्यायाधीशले राजिनामा नदिँदासम्म आन्दोलन नरोकिने स्पष्ट पारे । ‘बारको अन्तिम बटमलाइन प्रधान न्यायाधीशको राजिनामा हो,’ उनले भने ।


नेपाल बार एसोसियसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले प्रधान न्यायाधीश जवराका कारण लोकतन्त्र धरापमा परेको बताउँदै कानुनी शासन कायम राख्न नेपाल बार एसोसियसनले आन्दोलन थालेको जिकिर गरे । ‘पैँसा हुनेले न्याय पाउने र नहुनेहरुले नपाउने परिस्थितीको सिर्जना भएको छ । योे परिस्थिती निम्त्याउने काम प्रधान न्यायाधीशबाट भएको हो,’ उनले भने, ‘संबिधानको सर्वोच्चता कायम रहेन । सर्वसाधारणले सर्वसुलभ रुपमा न्याय पाउने अवस्था रहेन ।
नेपाल बारका वरिष्ठ उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले अहिलेको आन्दोलन ब्यक्ति विरुद्ध नभई प्रबृत्ती विरुद्ध भएको बताए । उनले प्रधान न्यायाधीशले राजिनामा दिँदैमा न्यायपालिकामा देखिएको विकृती अन्त्य नहुने बताए । ‘अदालतमा देखिएको विकृती अन्त्यका लागि यो सुरुवात हो । विकृती अन्त्यका लागि आन्दोलन निरन्तर जारी रहने छ,’ उनले भने ।
उच्च अदालत बार नेपालगन्जका अध्यक्ष शिवकुमार श्रेष्ठको सभापतित्वमा भएको विरोध कार्यक्रममा नेपाल बारका पूर्व उपाध्यक्ष टिकाजंग सिंह, जिल्ला बारका अध्यक्ष जनकबहादुर शाही, वरिष्ठ अधिवक्ता विजय गुप्ता र श्यामप्रसाद गौतम लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन उच्च अदालत बारका सचिव पदम पाण्डेले गरेका थिए ।

Previous articleबाँके काँग्रेस निर्वाचन : क्षेत्र नं. ३ मा संस्थापन पक्षका नक्की खाँ निर्विरोध निर्वाचित
Next articleकोरोना संक्रमित महिलालाई मनोपरामर्श तालिम, द्वन्द्व पीडित तथा एकल महिलाद्वारा दीप प्रज्ज्वलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here