अदालतमा आन्दोलनको असर : बाँके जिल्ला र उच्च अदालतको इजलाश सुनसान

बाँके, ५ मंसिर, २०७८ ।


उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलाशमा आइतवार १७ वटा पेशी चढ्यो । मुद्धा सुनुवाईका लागि न्यायाधीशहरु आ–आफ्नो इजलाशमा बसे । कानुन ब्यवसायी आउने आशामा न्यायाधीशहरु धेरै बेरसम्म इजलाशमा बसिरहे । तर, कुनै पनि कानुन ब्यवसायी सुनुवाईमा सहभागी भएनन् । उनीहरु नेपाल बारको निर्देशन अनुसार सुनुवाईमा सहभागी नभएपछि नेपालगन्जस्थित बाँके जिल्ला अदालत र उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलाश आइतवार सुनसान बन्यो । आइतवार जस्तै सोमवार पनि त्यस्तै भएको कानुन ब्यवसायीले जनाएका छन् ।
उच्च अदालतमा आइतवार चार वटा इजलाशमा १७ वटा पेशी चढेको थियो । पेशी चढे पनि आन्दोलनरत कानुन व्यवसायीहरू सुनुवाइमा सहभागी नभएपछि उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलाशमा कुनै पनि सुनुवाइ नभएको रजिष्ट्रार चिन्तामणी शर्माले बताए । ‘पेशी तोकिएको थियो, तर कुनै कानुन ब्यवसायी सुनुवाईमा सहभागी हुनु भएन,’ उनले भने, ‘वकिल सावहरु नआए अड्डा चल्ने कुरै भएन ।’
उनले कानुन ब्यवसायीले बहस, पैरवी नगर्दा कुनै पनि मुद्दा अगाडी बढ्न नसकेको जानकारी दिए । उच्च अदालतले बन्दी प्रत्यक्षिकरणको एउटा आदेश आइतवार दिएको शर्माले बताए ।
केन्द्रिय बारको परिपत्र अनुसार आइतवार दुवै अदालतको सुनुवाईमा सहभागी नभएको उच्च अदालत बार एसोसियसन नेपालगन्जका सचिव पदम पाण्डेले बताए । ‘नेपाल बार एसोसिएसनको निर्देशन अनुसार आइतवार बाँके बार र उच्च अदालत नेपालगन्ज बार इकाइमा आबद्ध कुनै पनि कानुन व्यवसायी सुनुवाइमा सहभागी हुनुभएन,’ उनले भने, ‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्न नेपाल बारको निर्देशन छ । सोही निर्देशन अनुसार आन्दोलन अघि बढ्छ ।’

Previous articleबाँके काँग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र : संस्थापन पक्षले चार र इतर पक्षले दुई प्रदेशसभा क्षेत्रमा विजयी
Next articleबाँकेका विभिन्न अस्पतालमा उपचाररत ७७४ संक्रमितको मृत्यू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here