काँग्रेस बाँके अधिवेशन : संस्थापन पक्षले पाँच र संस्थापन इतर पक्षको तीन पालिकामा जित

बाँके, ०३ मंसिर, २०७८ ।


नेपाली काँग्रेसको ११ औँ महाधिवेशन अन्तरगत बाँकेमा भएको पालिका अधिवेशनमा संस्थापन पक्षले पाँच र संस्थापन इतर पक्षका उमेदवारले तीन पालिकामा जितेका छन् । संस्थापन पक्षले नेपालगन्ज, बैजनाथ, जानकी, खजुरा र राप्तीसोनारी गाउँपालिका जितेको छ । संस्थापन इतर पक्षले पदाधिकारीसहित कोहलपुर, डुडुवा र नरैनापुर गाउँपालिकामा जितेको छ ।
नेपालगन्ज उपमहानगरमा संस्थापन पक्षका प्रशान्त बिष्ट सभापतिमा निर्वाचित भएका छन् । उनी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
नेपाली काँग्रेस बैजनाथ गाउँपालिकाको सभापतिमा पनि संस्थापन पक्षका देवबहादुर खत्री निर्वाचित भएका छन् । संस्थापन पक्षीय उमेदवार वीच भएको निर्वाचनमा केशर खड्काले ३९ मत पाउँदा अर्का उम्मेदवार रामबहादुर विष्टले २७ मत पाए । उपसभापतिमा सुरविक्रम शाह र गोपाल थारु निर्वाचित भएका छन् ।
खजुरा गाउँपालिकामा चयन भएका सभापति रमेश सिजाली पनि संस्थापन पक्षका मानिन्छन् । काँग्रेस खजुरा गाउँपालिकाको उपसभापतिमा इरफान अहमद खाँ र भीमबहादुर सुनार, सचिवमा अर्जुनकुमार प्याकुरेल र रामजीप्रसाद पौडेल तथा सह–सचिवमा मोहम्मद वकिल खाँ र सरिफ खाँ निर्विरोध निर्वाचित भएका छन् । यी पनि संस्थापन पक्षका हुन् ।
जानकी गाउँपालिकामा संस्थापन पक्षका दयाराम यादव (अहिर) भएका छन् । सचिवमा कुलराज जोशी र टिकानाथ यादव तथा सहसचिवमा रत्नबहादुर थापा क्षेत्री र हमिद अलि हल्वाई निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारी संस्थापन पक्षका भएको दावी संस्थापन पक्षले गरेको छ ।
राप्ती सोनारी गाउँपालिकाको सभापतिमा संस्थापन पक्षका भीमबहादुर राना क्षेत्री विजयी भएका छन् । रानाले १ सय मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी संस्थापन इतर (कोइराला÷पौडेल) पक्षका तुलाराम खत्रीले ६९ मत ल्याए । उपसभापतिमा संस्थापन पक्षकै धनबहादुर थारु र शेरबहादुर घर्तीमगर विजयी भए ।
सचिवमा संस्थापन पक्षका सन्तोष चौधरी र सुरेशकुमार डाँगी विजयी भए ।
सहसचिवमा तारादेवी बिक र मनोजकुमार बैश्यले निर्वाचित भएको मतदान अधिकृत प्रेम शर्माले जानकारी दिए ।
नेपाली काँग्रेस कोहलपुर नगरपालिकाको सभापतिमा वीरेन्द्रकुमार शाह निर्वाचित भएका छन् । संस्थापन पक्षका राजेन्द्र श्रेष्ठलाई १६ मतान्तरले हराउँदै शाह नगर सभापतिमा निर्वाचित भएका हुन् । शाहले १६० मत पाए भने श्रेष्ठले १४४ मत पाए । शाहसहित उनको पूरै प्यानल निर्वाचित भएको छ ।
डुडुवा गाउँपालिकामा संस्थापन इतर पक्षका विजयकुमार यादव सभापतिमा चयन भएका छन् ।
नरैनापुर गाउँपालिकामा संस्थापन इतर पक्षका मेराज अहमद खाँ सभापति पदमा निर्विरोध चयन भएका छन् । उपसभापति नितेशसिंह मौर्य र रामबिलाश मौर्य, सचिवमा धर्मेन्द्र यादव र रामचन्द्र यादव तथा सह–सचिवमा जगदिशप्रसाद कलवार र मन्नान अहमद अन्सारी चयन भएका छन् । निर्वाचित अधिकांश पदाधिकारी संस्थापन इतर पक्षका भएको दावी गरिएको छ ।

Previous articleकाँग्रेस नेपालगन्ज अधिवेशन : तेस्रो कार्यकालका लागि प्रशान्त विष्ट सभापतिमा निर्वाचित
Next articleएपीएफका किरणसिंह बोगटीलाई नेपालगन्ज म्याराथनको उपाधी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here