बाँके, २ मसिंर, २०७८ ।
डुडुवा गाउँपालिकाले क्याम्पस संचालनको तयारी गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिका भित्र क्याम्पस संचालनको तयारी गरिएको बताए । उनले त्यसका लागि आधारभूत आवश्यकताको अध्ययन गरि क्याम्पस स्थापना गरिने जानकारी दिए ।
अध्यक्ष चौधरीले शिक्षा क्षेत्रमा आकषर्ण गर्न विभिन्न कार्यक्रम तथा योजना ल्याइएको बताउँदै गाउँमै क्याम्पस भए पालिकाका बालबालिकालाई अध्ययन गर्न सहज हुने भन्दै आफना बालबालिकालाई शिक्षातर्फ अघि बढाउन अभिभावकसँग अनुरोध गरे ।
डुडुवा गाउँपालिका २, नौरीगौडीस्थित पशुपति माध्यमिक विद्यालयमा नवनिर्मित तीन कोठे भवनको उदघाटन गर्दै उनले शिक्षा बिना विकास सम्भव नभएकोले शिक्षालाई प्राथमिकतामा राखेको बताए ।
रु. २४ लाखमा डुडुवा गाउँपालिकाले विद्यालय भवन निर्माण गरेको तीन कोठे भवनले बालबालिकालाई शिक्षा आर्जन गर्न सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार यादवले बताए । उनले विद्यालयको भौतिक संरचना नहुँदा पठनपाठनमा देखिएको समस्या अन्त्य भएको भन्दै विद्यालयको सुधार तथा विकासका लागि संधै तत्पर रहेको धारणा राखे ।
गाउँपालिकाले छोरीको शिक्षाका लागि जन्मिने वित्तिकै खाता खोलेर रकम जम्मा गर्ने ब्यवस्था समेत मिलाएको छ ।