एमाले अध्यक्षको दावी : एक्ला–एक्लै चुनावी मैदानमा आए काँग्रेससहित गठबन्धन दलको जमानत जफत

बाँके, ०१ मंसिर, २०७८ ।
विभिन्न पार्टी परित्याग गरि चार हजार नेता, कार्यकर्तालाई एकसाथ एमालेमा प्रवेश गरेपछि अध्यक्ष केपी शर्मा ओली हौसिएका छन् । उनले नव प्रवेशीलाई पार्टीमा स्वागत गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘बाँके जिल्ला, लाल किल्ला ।’
उनले मधेस र मधेसीको हित विपरित पार्टी अगाडी बढ्न नसक्ने बताउँदै हुलाकी सडक, मध्य पहाडी लोकमार्ग, धरहरा, भेरी डाइभर्सन जस्ता ठूला आयोजना निर्माण गर्न एमाले नै चाहिने गरेको बताए । ‘एमाले जालझेल गरेर सत्तामा आउँदैन । सर्वसाधरणलाई त्रसाएर, अर्काको ज्यान लिएर सत्ता कब्जा गर्ने सोँच राख्दैन । एमाले सर्वसाधरणको मन जितेर विकास निर्माणको एजेण्डा बोकेर सत्तामा जाने पार्टी हो,’ उनले भने ।
उनले जेष्ठ नागरिकको सम्मानका लागि एमालेले एक सय रुपैँयबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता अहिले चार हजार रुपैँया पुगेको छ । उनले भने, ‘६० बर्ष पुगेका जेष्ठ नागरिकलाई एमालेले मार्छ भन्नेहरुको मुखमा एमालेले बुजो लगाई दिएको छ,’ उनले भने, ‘मासिक एक सयबाट सुरु भएको बृद्ध भत्ता अहिले दैनिक एक सय ३३ रुपैँया जेष्ठ नागरिकको घरमा पुग्ने गरेको छ ।’
उनले स्वतन्त्र राजनीतिक समुहका नेता समेत रहेका जिल्ला विकास समितिका पूर्व सभापति पशुपति दयाल मिश्र, अडिटर करिम खाँ, कोहलपुर नगर विकास समितिका पूर्व अध्यक्ष गिर्जा पाठक, जनता समाजबादी पार्टीका नेता बेचनलाल गुप्ता, चिन्टु बर्मा लगायत चार हजार बढि नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराए ।
वीपीको सिद्धान्त त्यागेर काँग्रेस प्रचण्ड पथमा विलिन
कार्यक्रमलाई सम्बोधन गर्दै उनले परमादेशबाट जन्मिएको सरकारका कारण सर्वोच्च अदालतमा तमासा भइरहेको बताएका छन् । एमाले बाँकेले नेपालगन्जमा आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले परमादेशबाट सरकार बनाउन बहस, पैरवी गर्ने कानुन ब्यवसायीहरुले अदालत परिसरमा मुका हानाहान गरि अदालतको गरिमामाथि आँच पुर्याएको बताए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा चार वटा बैशाखी टेकेर हिडेको आरोप लगाउँदै देउवाका कारण काँग्रेस वीपी पथबाट प्रचण्ड पथमा लागेको बताए । ‘काँग्रेसले वीपी पथ त्यागी सक्यो, गणेशमान र कृष्णप्रसाद भट्टराईको आदर्श विर्सेर प्रचण्ड पथमा हिडिसक्यो,’ उनले भने, ‘सिद्धान्त नभएको काँग्रेसको विचार र सिद्धान्त बुढो भइसक्यो ।’
गठबन्धन बिना चुनावी मैदानमा आए काँग्रेस सहित दलका जमानत जफत हुने जिकिर गरे । उनले काँग्रेसलाई खिया लागेको फलामको संज्ञा दिए । दम भए एक्ला एक्लै चुनावी मैदानमा आउन ५ दलिय गठबन्धनलाई उनले चुनौती दिए । ‘एमालेसँग लड्ने हैसियत काँग्रेसले गुमाई सक्यो, माओवादी केन्द्र र एकीकृत समाजबादीको त कुरै नगरौँ, उनीहरुले दलिय हैसियत गुमाईसके,’ अध्यक्ष ओलीले भने ।
उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कुलंगारको संज्ञा दिए । पार्टीको झण्डा बोकेर थोरै सांसद भएका काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन अदालत जानेहरु कम्यूनिष्ट हुन नसक्ने बताउँदै उनले एमालेबाट झमेला, अहंकार, दम्भ देखाउनेहरु बाहिरिएको जिकिर गरे ।
सर्वोच्च अदालतका केहि न्यायाधीश र आफूलाई कानुनको ज्ञाता ठान्नेहरुले कानुनी राज्यको खिल्ली उडाएको बताउँदै ओलीले जालझेल गरेर सत्तामा आएको सरकारको आयू लामो नभएको ठोकुवा गरे । उनले अदालतको गरिमा जोगाउन अदालतको आदेश स्विकार गरेको स्पष्ट पारे । ‘परमादेशबाट सरकार गठन हुने कानुनी ब्यवस्था विश्वभर कहिँकतै छैन, दुर्भाग्य हाम्रो देशको अदालतले बहुमत भएको पार्टीको नेतालाई हटाएर नामै किटान गरि परमादेशबाट सरकार गठन गर्न निर्देशन दिन्छ । यो भन्दा अर्को दुर्भाग्य हुन सक्दैन,’ ओलीले भने ।

Previous articleसिकलसेल उपचार केन्द्र पुनः संचालनको माग गर्दै स्वास्थ्य मन्त्री थारुलाई स्कास नेपालको ज्ञापन
Next articleडुडुवामा क्याम्पस संचालनको तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here