महिलाले संचालन गरेको सहकारी : एक बर्षमा १५ लाख खुद नाफा

बाँके, ३० कात्तिक, २०७८ ।


महिलाले संचालन गरेको राप्तीसोनारी गाउँपालिका ६, फत्तेपुरस्थित नयाँ सिर्जनशिल सामाजिक उद्यमी महिला सहकारी संस्थाले साढे १४ लाख रुपैँया खुद नाफा गरेको छ । उक्त सहकारीमा एक हजार ५४ जना महिला शेयर सदस्य छन् । आर्थिक बर्ष ०७७–०७८ मा १४ लाख ४५ हजार ६१२ रुपैँया खुद नाफा गर्न सफल भएको ब्यवस्थापक दिब्या गुरुङले जानकारी दिइन् ।
उनले गत बर्षभन्दा झण्डै ६ लाख बढि नाफा गरेको बताइन् । गत आवमा उक्त सहकारीले ८ लाख ७० हजार रुपैँया नाफा गरेको थियो ।
सहकारीको १० औँ बार्षिक साधारण सभामा बोल्दै अध्यक्ष गंगाकुमारी चन्द ठकुरीले ४८ लाख ८७ हजार शेयर पुञ्जी भएको बताइन् । उनले चार सय ६१ जना महिलालाई कुल दुई करोड ६१ लख ६७ हजार रुपैँया कर्जा लगानी गरेको बताइन् । सहकारीमा एक करोड ८२ लाख ९७ हजार रुपैँया बचत निक्षेप रहेको उनले पेश गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।


सहकारीले बाख्रा पालन, तरकारी खेती, खुद्रा पसल संचालन लगायतमा लगानी गर्दै आएको छ । अध्यक्ष चन्द ठकुरीका अनुसार संस्थाले गुणस्तरिय खसी बजारीकरण, धान, मकै र मसुरोको विउ उत्पादन तथा विक्रि, ब्यवसाय प्रवद्र्धनका लागि शेयर सदस्यलाई कर्जा प्रवाह, पशु वीमा संचालन, खसी तथा बाख्राको लागि सन्तुलित दाना विक्रि, पशु शिविर तथा आन्तरिक परिजिवी विरुद्धको औषधि वितरण, डाले तथा भुइँ घाँस खरिद, विक्रि लगायतका शेयर सदस्यलाई सेवा दिँदै आएको छ ।
सहकारीले आव ०७७–०७८ मा ८८ लाख १९ हजार ८३३ रुपैँयाको आठ सय ११ वटा खसी खरिद गरि ९० लाख ९५ हजार ११६ रुपैँयामा विक्रि गरेको ब्यवस्थापक गुरुङले जानकारी दिइन् । उनले चार लाख ५६ हजार १०१ रुपैँयाको धान खरिद गरि पाँच लाख २९ हजार ७५ रुपैँयामा विक्रि गरेको बताइन् ।


संस्थाको १० औँ बार्षिक साधारण सभामा राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का अध्यक्ष जनकबहादुर थारुले सहकारीले महिलाको आयआर्जनमा टेवा पुर्याएको बताउँदै वडा कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘ब्यवसायमा लागेर आफ्नो लागि आफै कमाउन सक्ने भएको देख्दा खुसी लागेको छ,’ उनले भने ।
वी–ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले सहकारीले महिला उत्थानका लागि अतुलनिय कार्य गरेको बताउँदै सहकारीबाट अझ धेरै फाइदा लिन सुझाव दिए । उनले आफ्नो लागि आफै गर्ने बानीको विकास गर्न आग्रह गर्दै ब्यवसाय गरेर आत्मनिर्भर बनेकोमा खुसी ब्यक्त गरे ।


बहुमुखी सेवा केन्द्रका अध्यक्ष प्रभातकुमार ठकुरीले सहकारीले ग्रामिण भेगको अर्थतन्त्र उकास्न ठूलो भूमिका खेले पनि स्थानीय तहले सहकारी प्रति उदासिन भएको गुनासो गरे । उनले स्थानीय तहले सहकारीको फाइदा बुझ्न नसक्दा प्राथमिकतामा राख्न नसकेको बताए ।
कोहलपुर नगरपालिका कार्यपालिका सदस्य भीमबहादुर नेपालीले सहकारीले महिलालाई मात्र नभई सिंगो समाजलाई फाइदा पुर्याएको बताए । उनले सहकारीबाट फाइदा लिन स्थानीय तहले विशेष योजनासँगै बजेट विनियोजन गर्नुपर्ने धारणा राखे ।

Previous articleदशौँ राष्ट्रिय महाधिवेशनका लागि एमालेले ‘चन्दा’ नमाग्ने
Next articleसिकलसेल उपचार केन्द्र पुनः संचालनको माग गर्दै स्वास्थ्य मन्त्री थारुलाई स्कास नेपालको ज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here