नेपालगन्जमा झण्डै दुई हजार लागुऔषध दुर्ब्यसनी

बाँके, २८ कात्तिक ।


नेपालगन्ज उपमहानगरमा दुई हजारको हाराहारीमा लागुऔषध दुर्ब्यसन भएको तथ्यांक छ । लागुऔषध दुर्ब्यसन विरुद्धको अभियान संचालन गर्दै आएका विभिन्न संस्थाले विक्रम सम्वत् ०७५–०७६ मा गरेको सर्वेक्षणमा एक हजार एक सय ३० जना पुरुष र ३४ जना महिला लागुऔषध दुर्ब्यसनी फेला परेको तथ्यांक छ । ‘यो एउटा सिम्बोलिक मात्र थियो । लागुऔषध प्रयोग गर्दै आएकाको सम्पर्कमा आएकालाई सोधेर सर्वेक्षण गरिएकोले यसलाई पूर्ण मान्न सकिदैन । नेपालगन्जमा दुई हजारको हाराहारीमा लागुऔषध प्रयोगकर्ता भएको अनुमान छ,’ जुनकिरी महिला समुहका कार्यक्रम संयोजक रविन्द्र सिंह राठौरले भने ।
उनले गृह मन्त्रालयले विक्रम सम्वत् ०६९ सालमा गरेको सर्वेक्षण अनुसार बाँकेमा ७४ जना महिला गरि चार हजार ७० जना लागुऔषध प्रयोगकर्ता फेला परेका थिए । तर, बाँकेमा ५–६ सयको हाराहारीमा लागुऔषध प्रयोगकर्ता महिला भएको अनुमान गरिएको छ ।
गृह मन्त्रालयको अनुसार ११.१६ प्रतिशत अपराध लागुऔषध दुर्ब्यसनका कारण हुने गरेको छ । नेपालमा हाल दुई लाखको हाराहारीमा लागुऔषध प्रयोगकर्ता भएको अनुमान गरिएको छ । तर, २०६९ सालमा गृह मन्त्रालयले गरेको सर्वेक्षणमा ६ हजार ३३० जना महिला सहित ९१ हजार ५३४ जना लागुऔषध दुब्र्यसनी फेला परेका थिए । ‘नेपालमा बार्षिक १०–१५ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको बृद्धि भएको देखिन्छ,’ राठौरले भने ।
लागुऔषध न्यूनिकरण गर्न नेपालगन्जमा अभियान संचालन
नेपालगन्जमा बढ्दै गएको लागुऔषध दुब्र्यसन न्यूनिकरणका लागि लागुऔषध दुर्ब्यसन विरुद्धको क्षेत्रमा कार्यरत यहाँका संघसंस्थाले विशेष अभियान संचालन गर्ने भएका छन् । नवकिरण पुनर्स्थापना केन्द्र, प्रेरणा, सामना, नयाँ आशा, चेन्ज टीम, सभ्य पाइला, नव दृष्टि, प्रयास लगायतका पुनर्स्थापना केन्द्रले यहाँ विभिन्न सचेतनामुलक तथा आयमुलक कार्यक्रम संचालन गर्ने भएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा लागुऔषध दुर्ब्यसन विरुद्ध अभिमूखिकरण, सचेतनामुलक सडक नाटक, विद्यालयका बालबालिकालाई लक्षित गरि ८ वटा विद्यालयमा सचेतनामुलक अभिमूखिकरण, सुरक्षाकर्मी, पत्रकार, कानुन ब्यवसायीसँग अन्तरक्रिया, नेपालगन्जको चार ठाउँमा होर्डिङ बोर्ड राख्ने, रेडियो जिंगल प्रसारण गर्ने, ६० जना लागुऔषध प्रयोगकर्तालाई निशुल्क उपचार सेवा, पूर्व लागुऔषध प्रयोगकर्तालाई नेतृत्व विकास तालिम, विपन्न लागुऔषध प्रयोगकर्ता तथा एचआइभी संक्रमित बालबालिकालाई पोषण सामग्री वितरण लगायतका कार्यक्रम संचालन गरिने नव किरण पुनस्र्थापना केन्द्रका प्रमुख उत्तम खरेलले बताए ।
कार्यक्रमको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले लागुऔषध दुर्ब्यसन एक जना ब्यक्ति परिवारको मात्र नभई सिंगो देशको साझा समस्या भएको बताए । उनले लागुऔषध दुर्ब्यसन भुसको आगो झैँ समाजमा फैलिएको उल्लेख गर्दै न्यूनिकरण गर्न सवैको सहयोग आवश्यक भएको बताए ।

Previous articleकाँग्रेस बाँके वडा अधिवेशनः ८१ वडा मध्ये ५२ वटामा पदाधिकारी र प्रतिनिधि निर्विरोध चयन
Next articleरंगशालामा भैरवप्रसाद गणका गणपति कार्कीको सक्रियताः भारोत्तोलन भवनको शौचालय र बाथरुम मर्मतमा समेत सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here