नरैनापुरमा दिवा खाजाको प्रभाव : विद्यार्थी तान्दै, विद्यालय नियमित आउन सघाउँदै

बाँके, २५ कात्तिक, २०७८ ।
दिवा खाजाले नरैनापुरका बालबालिकालाई विद्यालय आउन प्रेरित गरेको छ । दिवा खाजाको ब्यवस्था गरिएपछि विद्यालय आउन नचाहने बालबालिका पनि विद्यालय आउन थालेको शिक्षा शाखा प्रमुख कृष्णकुमार चौधरीले बताए । दिवा खाजाले विद्यार्थीलाई नियमित विद्यालय आउने बनाएको उनले बताए । ‘भर्ना भएर विद्यालय छोड्ने विद्यार्थीहरु पनि नियमित रुपमा विद्यालय आउन थालेका छन्,’ उनले भने ।
पछिल्लो समय यहाँका विद्यालयका कक्षा कोठा विद्यार्थीले भरिभराउ हुने गरेको उनको भनाई छ । विद्यार्थीलाई नियमित रुपमा विद्यालय आउने बनाउन पालिकाले बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा अध्ययनरत विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । ‘दिवा खाजाले विद्यालयमा उपस्थित हुने विद्यार्थी संख्यामा अप्रत्याशित बृद्धि भएको छ,’ शिक्षा शाखा प्रमुख चौधरीले भने ।
यहाँका विद्यालयमा हरेक दिन फरक–फरक स्वादको परिकार पाक्ने गरेको छ । पौष्टिक तत्व भएको खाजा खुवाउने गरेको उनले बताए । उनले दिवा खाजामा हलुवा, डलिया, खिचडी लगायतका परिकार विद्यार्थीलाई खुवाउने गरेको बताए । संघीय सरकारको सशर्त अनुदानमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको उनले बताए । ‘दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई आकर्षित गरेको छ,’ उनले भने, ‘ड्रप आउट हुने क्रम पनि रोकिएको छ ।’
उनले दिवा खाजा संचालनमा आएपछि विद्यालय बाहिर रहेका विद्यालय जाने उमेर समुहका करिव २०–२५ प्रतिशत विद्यार्थी भर्ना भई नियमित रुपमा विद्यालय आउन थालेको बताए । नरैनापुर–६ जमुनीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक अमरलाल यादवले दिवाखाजाले विद्यार्थीको उपस्थितिमा उल्लेख्य सुधार आएको बताए । उनले विद्यार्थीको चाप बढ्दा ब्यवस्थापन गर्न समस्या भएको बताए । ‘भर्ना हुने, तर विद्यालय नआउने गरिन्थ्यो । दिवाखाजाले कक्षा कोठा भरिभराउ छन् । प्रायःजसो विद्यार्थी नियमित रुपमा विद्यालय आउन थालेका छन्,’ उनले भने ।
खाजा कार्यक्रम सुरु हुनुभन्दा पहिले तीन सय ७६ जना विद्यार्थी थिए । अहिले चार सय ४३ पुगेको उनले बताए ।

उनले कार्यक्रम लागू हुनु अगाडि विद्यालयमा भर्ना भएका बालबालिका पनि नियमित विद्यालय आउने क्रम अत्यन्त न्युन रहेको र आई हाले पनि विचमै कक्षा छाडेर घर फर्कने गरेकोमा दिवा खाजाको कार्यक्रमले उनीहरुलाई नियमित विद्यालय आउने र कक्षामा पनि अन्तिमसम्म बस्ने गरेको जानकारी दिए ।

नरैनापुर–४ मा रहेको मदरसा अरविया गुल्शने वारिस उन्मतुलुममा पनि अचेल विद्यार्थीको बढ्दै गएको छ । कक्षा ३ सम्म सञ्चालनमा रहेको यस मदरसामा ३ सय ७ बालबालिका अध्ययनरत रहेका छन् । अत्यन्तै न्युन विद्यार्थी रहेको मदरसामा दिवाखाजा कार्यक्रमले चमत्कार नै गरेको मदरसाका प्रधानाध्यापक अब्दुल रहमान खाँले दाबी गरे ।

‘पहिला कक्षा कोठामा थोरै विद्यार्थी हुन्थ्ये तर अहिले दिवा खाजा कार्यक्रमले कक्षा कोठामा ठाउँ नभएर बाहिर बराण्डामा राखेर पढाउनु परेको छ’– उनले भने–‘ यो कार्यक्रम निरन्तर रहेमा विद्यार्थीको चाप अत्याधिक बढ्ने छ । मदरसाको पूर्वाधार पनि बढाउन आवश्यक देखिन्छ ।’ नरैनापुर गाउपालिकामा रहेका सामुदायिक विद्यालय तथा मदरसा गरी ४७ वटा र विद्यालय बाहिर सञ्चालनमा रहेका ३ वटा बालविकास केन्द्रमा गरी ५० विद्यालय, मदरसामा दिवा खाजा सञ्चालनमा रहेको पालिकाका प्रमुख प्रशाशकिय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

Previous articleधारा सातौं नेपालगन्ज म्याराथन : विश्व साइकलयात्री पुष्कर शाहले स्कटिङ गर्ने
Next articleजनप्रतिनिधिको अग्रसरता : शिक्षामा फड्को मार्दै नरैनापुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here