सिकलसेल उपचार केन्द्र बन्द भएको प्रति मन्त्री हिमालको चासो

बाँके, २४ कात्तिक, २०७८ ।
नेपालगन्जस्थित भेरी अस्पतालको सिकलसेल एनिमिया उपचार केन्द्र अलपत्र परेको छ । सिकलसेल एनिमिया फोकल पर्सन बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेको भरतपुर अस्पतालमा सरुवा भएपछि उक्त केन्द्र अलपत्र परेको हो । डा. पाण्डे भेरी अस्पतालमा फिर्ता भए पनि कोठा अभावमा सिकलसेलका विरामी उपचार तथा परामर्शबाट बञ्चित भएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम थारुले बताए । ‘डा. पाण्डे फर्किर आउँदा उपचार केन्द्र बन्द भइसकेको थियो । केन्द्रमा राखिएको साइनबोर्ड समेत हटाइएको थियो,’ उनले भने ।
सिकलसेल एनिमिया उपचार केन्द्र बन्द भएको विषयमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा (हिमाल) ले चासो देखाएका छन् । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर चन्दलाई भेटेर मन्त्री हिमालले सिकलसेल एनिमिया उपचार केन्द्र तत्काल संचालनमा ल्याउन निर्देशन दिए ।
उनले एक जना चिकित्सकको सरुवा हुने वित्तिकै उपचार केन्द्र बन्द हुनु दुर्भाग्य भएको बताउँदै उनले विरामीको मागलाई मध्यनजर गरि तत्काल संचालनमा ल्याउन मेसु डा. चन्दलाई निर्देशन दिए । ‘जे भयो एकदमै नराम्रो भयो । सिकलसेलका विरामीको समस्यालाई मध्यनजर गरि एउटा कोठाको ब्यवस्था गरेर भए पनि उपचार केन्द्र संचालनमा ल्याउनु पर्छ,’ उनले भने ।
मन्त्री हिमालले सिकलसेलसँगै थाल्सेमियाका विरामीलाई पनि उपचारमा सहयोग गर्न सुझाव दिए । भेरी अस्पताल सिकलसेल एनिमियाका विरामीको रेफ्रल सेन्टर हो । उपचार केन्द्र बन्द गरेर विरामीलाई उपचारबाट बञ्चित गराउनेलाई माफी दिन सकिदैन,’ उनले भने, ‘विरामीको सहजताका लागि साइनबोर्ड राखेर तत्काल उपचारको ब्यवस्था मिलाउनु पर्छ ।’


मन्त्री हिमालसँगको अन्तरक्रियामा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दले कोभिडका विरामीको चाप र भवन अभावका कारण सिकलसेल उपचार केन्द्र बन्द भएको बताए । उनले सिकलसेल एनिमिया उपचार केन्द्र भएको ठाउँमा पिसिआर ल्याव स्थापना भएको बताउँदै कोठाको ब्यवस्था गरि तत्काल संचालनमा ल्याउने प्रतिवद्धता जनाए । ‘सुनियोजित र उपचार नगर्ने मनसायले बन्द गरिएको होइन । ठाउँ र जनशक्ति अभावले उपचार केन्द्रको काम प्रभावित भएको हो,’ उनले भने, ‘भवनको ब्यवस्था गरेर तत्काल संचालनमा ल्याइने छ ।’
लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना) ले पनि सिकलसेल एनिमिया उपचार केन्द्र बन्द हुनु दुर्भाग्य भएको बताइन् । उनले जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेलका विरामीलाई उपचार तथा परामर्शबाट बञ्चित गर्न नहुने भन्दै उपचार केन्द्र तत्काल संचालनमा ल्याउन अस्पताल प्रशासनलाई सुझाव दिइन् ।
भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले पनि सिकलसेल युनिटका लागि भवन ब्यवस्था गरि उपचार सुचारु गर्ने प्रतिवद्धता जनाए । अस्पतालकी मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठले सिकलसेल एनिमियाका विरामीको उपचारमा अस्पताल सम्बेदनशील रहेको बताइन् । ‘उपचार भइरहेको छ, तर उपचारका निश्चित ठाउँ नहुँदा विरामीलाई असहज भएको हुनु पर्छ । अस्पतालले तत्काल ब्यवस्थापन गरि उपचारमा सहजता ल्याउने छ,’ उनले भनिन् ।

Previous articleनिर्मला कुर्मी बेपत्ता प्रकरण : सम्पत्ती हडप्न बेपत्ता बनाउने ६ जना पक्राउ
Next articleधारा सातौं नेपालगन्ज म्याराथन : विश्व साइकलयात्री पुष्कर शाहले स्कटिङ गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here