मुस्लिम समुदायको ढाका टोपी मोहः नेपाली राष्ट्रियता बलियो बनाउन मद्दत

बाँके, २२ कात्तिक, २०७८ ।
गैरसरकारी संस्थामार्फत समाजसेवामा तल्लिन बाँके युनेस्को क्लवका संस्थापक अध्यक्ष प्रवेज अलि सिद्धिकीको शिरमा ढाका टोपी कहिलै छुट्दैन । उनी घरमा बस्दा होवस या कुनै कार्यक्रम र किनमेलका लागि बजार निस्कदा होवस् ढाका र मैनपोस कालो टोपी लगाएर मात्र निसकन्छन् । सुहाउनका लागि नभई नेपाल र नेपालीको पहिचान दिन उनले ढाका र मैनपोस टोपी लगाउँछन् । ‘ढाका र मैनपोस कालो टोपी नलगाउँदा मलाई खल्लो लाग्छ । नलगाउँदा के–के हराएको अनुभूती हुन्छ,’ उनले भने ।
उनीमात्र नभई नेपालगन्जमा बसोबास गर्ने अधिकांश मुस्लिम समुदायका अगुवाले ढाकाटोपी लगाउँछन् । अधिकांश मुस्लिम अगुवा ढाकाटोपीमा सजिएर बाहिर निस्कन्छन् । कार्यक्रम, समारोह र पाटीमा मात्र नभई घर, पसल तथा बाहिर कतै जाँदा ढाकाटोपी लगाउने गरेको एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुनले बताए ।
राष्ट्रियता र पहिचानका लागि अधिकांश मुस्लिमले टोपी लगाउने गरेको समाजसेवी हारुनको भनाइ छ । ‘धर्मगुरुदेखि सर्वसाधारण मुुस्लिमले नेपाली टोपी प्रयोग गर्छन्,’ उनले भने ।
उनले मुस्लिम समुदायमा टोपी लगाउने परम्परा भएको बताए । कुनै शुभकार्य वा धार्मिक कार्य गर्दा टोपी लगाएर मात्र गर्ने प्रचलन रहेको उनको भनाइ छ । नेपालगन्जका मुस्लिमले टोपीलाई नेपाली पहिचानसँग जोडेर हेर्ने गरेका छन् । त्यसमध्ये नेपालगन्ज उपमहानगरपालिका–४, गणेशपुरका मेराज अहमद हलवाई पनि एक हुन् । पसलमा बस्दा होस् वा घरबाहिर जाँदा ढाकाटोपी लगाउँछन् । ‘नेपाल र नेपालीको पहिचान दिन ढाकाटोपी लगाउँछु,’ उनले भने ।
ढाकाटोपी नलगाउँदा नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझीका रहमान मियाँलाई के–के बिर्से जस्तो लाग्छ । बाल्यकालदेखि नै उनले ढाकाटोपी लगाएकाले नलगाउँदा उनलाई खल्लो महसुस हुने गरेको उनले बताए । शिरमा टोपी भएन भने मलाई अर्कै महशुस हुन्छ । कार्यक्रममा लामो समय बस्न सक्दैन,’ उनले भने, ‘टोपीले मेरो गौरव बढाउँछ । र, आत्मबल बढ्छ ।’
घरबाहिर निस्कँदा संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी (भोला) पनि ढाकाटोपी लगाएर मात्र निस्कन्छन् । नेपाली मुस्लिमको पहिचान दिन ढाका टोपी लगाएको उनी बताउँछन् । ‘ढाका टोपी लगाउँदा हामी नेपालीले गौरब महशुस गर्नुपर्छ । आत्मसम्मानका लागि पनि ढाका टोपी लगाउनु पर्छ,’ उनले भने ।
बाहिरी देशमा नेपाली मुस्लिमको सम्मान
नेपाली भएको चिनाउने एक मात्र माध्ययम ढाकाटोपी भएकोेले बाहिरी देश जाँदासमेत ढाकाटोपी लगाएर जाने गरेको नेपालगन्जका व्यापारी मोहम्मद सफिक बागवानले बताए । उनले हजका लागि साउदी अरेबियाको मक्का–मदिना गएको वेला ढाकाटोपीले नेपाली मुस्लिम भएको परिचय गराएको स्मरण गरे । ‘मलाई ढाकाटोपी लगाएको देखेर अरबमा बस्दै आएका एकजना नेपाली दौडिँदै आएर मलाई भेटे,’ उनले भने, ‘टोपीले नै म नेपाली मुस्लिम भएको परिचय गरायो ।’
नेपाली टोपी लगाएर भारतमा जाँदा सम्मान मिल्ने गरेको हाजी मोबिन अहमदले बताए । ‘भारतमा जाँदा नेपाली मुस्लिम भनेर सम्मानजनक व्यवहार पाइन्छ,’ उनले भने ।
इस्लाम धर्ममा टोपी अनिवार्य
भगवानको अगाडि टाउको देखाउन हुँदैन भन्ने धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभ साइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्म गुरु मौलाना जब्बार मन्जरीले बताए । उनले मस्जिदमा नमाज पढ्दा र कुनै शुभ कार्य गर्दा इस्लाम धर्मावलम्बीलाई टोपी अनिवार्य गरिएको जानकारी दिए ।
‘अरू टोपी लगाउँदा पनि हुन्छ, तर धेरैजसो मुस्लिम धर्मका अगुवाले ढाकाटोपी लगाउने गरेका छन्,’ उनले भने, ‘हुन त अरु टोपी लगाए पनि हुन्थ्यो, तर अन्यभन्दा देशको राष्ट्रियता झल्कने टोपी नै लगाउन उचित लाग्छ ।’

Previous articleघर खर्चबाट सुरु भएको निर्मलाको तरकारी खेती : बार्षिक पाँच लाख बचत
Next articleलागुऔषधमा पाँच बर्ष जेल सजाय तोकिएका श्रेष्ठ पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here