निर्मला कुर्मी बेपत्ता प्रकरण : सम्पत्ती हडप्न बेपत्ता बनाउने ६ जना पक्राउ

गुगलबाट साभार ।

बाँके, २२ कात्तिक, २०७८ ।


नेपालगन्ज उपमहानगरपालिका १७ परस्पुरकी निर्मला कुर्मीलाई बेपत्ता प्रकरणमा आरोपित मध्ये ६ जनालाई बाँके प्रहरीले पक्राउ गरि अदालतमा पेश गरेको छ । करोडौं मूल्य पर्ने जमिन हडप्न पूर्व सांसद बाद शाह कुर्मी सहितको टोलीले निर्मलालाई बेपत्ता बनाएको आरोप छ ।
निर्मलाको अपहरण गरि हत्या गरेको आरोपित मध्ये रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंहलाई पक्राउ गरि अदालतमा पेश गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए ।
आरोपित मध्ये कुँवर बब्बन सिंह ठाकुरलाई पनि प्रहरीले अदालतमा पेश गरेको छ । उनको उमेर ८० वर्ष पुगेकोले अदालतले उनलाई साधारण तारेखमा छाडेको उनले बताए । ‘उमेर हदका कारण ठाकुरलाई अदालतले साधारण तारेखमा छोडेको छ,’ उनले भने ।
आरोपित मध्ये पूर्व सांसद बादशाह कुर्मीले गत १० भाद्रमा जिल्ला प्रहरी कार्यालयमा गएर बयान दिएकाले उनलाई हाजिरी जमानतमा छाडिएको न्यौपानले बताए । निर्मलाको भारतमा विवाह भएको र उनको विवाह दर्ता तथा मृत्यु दर्ता प्रमाणपत्र माथि समेत अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।
बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबी घटना छानबिनका लागि गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको झण्डै दुई हप्तापछि आरोपितलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका १७ परस्पुरकी निर्मला कुर्मी बेपत्ता छिन् । उनको नाममा रहेको साढे ४ बिघा घरजग्गा भूमाफियाले किर्ते कागज, जालझेल गरि नामसारी गरेको तथ्य भेटिएपछि समितिले आरोपितलाई पक्राउ गरि कारवाही गर्न सरकारलाई सुझाव दिएको थियो ।
बेपत्ता निर्मला र नन्कुनी धोवी घटना छानविन गरि दोषीलाई कारवाहीको माग गरि महिला अधिकारकर्मी रुवी खान सहितको महिला टोली नेपालगन्ज–काठ्माडौँ पैदल यात्रा गरि माइती घर मण्डलामा धर्ना दिएको थियो । सोही धर्नापछि सरकारले दुवै घटनाको छानविन गर्ने र दोषी देखिए कारवाही गर्ने प्रतिवद्धता जनाएको थियो । सरकारको प्रतिवद्धता पछि खानले अनसन तोडेकी थिइन् ।

Previous articleलागुऔषधमा पाँच बर्ष जेल सजाय तोकिएका श्रेष्ठ पक्राउ
Next articleसिकलसेल उपचार केन्द्र बन्द भएको प्रति मन्त्री हिमालको चासो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here