घर खर्चबाट सुरु भएको निर्मलाको तरकारी खेती : बार्षिक पाँच लाख बचत

बाँके, २१ कात्तिक, २०७८ ।


नेपालगन्ज उपमहानगरपालिका–२०, पशुपतिनगरमा बस्ने निर्मला सापकोटा ब्यवसायीक कृषक हुन । सुर्खेतको विद्यापुरबाट बसाई सराई गरि २०६० सालमा राँझास्थित आर्मीको खाली जमिनमा बसेका उनको परिवारलाई त्यहाँ बस्न दिइएन् । त्यसपछि उनको परिवार २०६२ सालमा पशुपतिनगरमा १० कट्ठा जमिन खरिद गरि बस्न थाल्यो । उनको परिवार त्यहाँ बस्नुअघि गौचरण थियो । वरपरका सवैले आफ्ना गाई, भैँसी, भेडा, बाख्रा चराउन त्यहिँ ल्याउँथे । केटाकेटीको खेल्ने मैदान पनि यहि थियो ।
तर, उनको परिवारले आफ्नो घर खर्चका लागि चार बोट टमाटर, दुई–दुई बोट भान्टा, बन्दा, काउली र ४–५ बोट खुर्सानी रोप्यो । ०६२ सालमै १० किलो आलु पनि लगाइन् उनले । ‘टमाटर, भान्टा, बन्दा, काउली र खुर्सानी असाध्यै फल्यो । घरमा खान नसकेर छिमेकी र इष्टमित्रलाई बाड्यौँ । १० किलो आलु रोपेको झण्डै सात क्विन्टल फल्यो,’ उनले भनिन्, ‘बाहुनीको तरकारी कति धेरै फलेको हो भनेर मैले रोपेको तरकारीको गाउँघरमा प्रसंशा भयो । तरकारी रोपेपछि फल्ने रैछ भनेर अरुले पनि रोप्न थाले ।’
उनको आफ्नो १० कट्ठा जमिन छ । एक विघा १० कट्ठा जमिन भाडामा लिएकी छन् । उनले एक विघा जमिनमा तरकारी र मकै खेती गर्दै आएकी छन् । भैँसी फार्म पनि भएकोले एक विघा जमिनमा घाँस खेती गर्दै गर्छन् उनको परिवारले । फार्ममा पाँच भैँसी, दुई गाई, दुई खसी र एउटा बाख्रा छन् । घरमै गाई, भैँसी भएकोले हामीलाई रासायनिक मलको खासै जरुरत पर्दैन । एक पटक रासायनिक मल नहालेर काउली रोपको थिएँ, तर फल लागेन । ‘रासायनिक मल नहालेर फल नलाग्ने भएकोले बर्षमा दुई क्वीन्टल डिएपी र तीन क्वीन्टल यूरिया मल बाहेक अरु कम्पोष्ट मल नै प्रयोग गर्छौँ । तर यो पहिलेको तुलनामा अहिले रासायनिक मल धेरै कम प्रयोग गरेका छौँ,’ उनले भनिन् ।
फल बजारमा पठाउने र झारपात पशुचौपायालाई खुवाउने उद्देश्यले पशुपालन सुरु गरेको उनले बताइन् । उनलाई गाई, भैँसीको गोवर प्रशस्त भएकोले रासायनिक मलमा निर्भर हुन परेको छैन ।
०६२ सालमा उनको खरले छाएको र अजम्बरीले बेरेको सानो घर थियो । घर बनाउने पैँसा नभएकोले काम चलाउनका लागि घर बनाएका थिए । ‘बर्षातको बेला आफूहरु पानीमा रुझेर हामीले दुई छोरा र एक छोरीलाई छाता ओढाएर पानीबाट जोगाउँथ्यौँ । यो क्रम करिव चार बर्षसम्म चल्यो,’ उनले विगत सम्झिइन् ।
त्यसपछि तरकारी र पशुपालनबाट भएको आम्दानीले जस्ता पाताले छाएको चार कोठे घर बनाए । यसैमा पाँच जना परिवारको गुजारा चलेको छ । उनले भनिन्, ‘घर ठूलो नभए पनि आफ्नो मेहनतले बनाएकोले हामीलाई महल भन्दा ठूलो लाग्छ ।’
अहिले तरकारी र पशुपालनबाट भएको आम्दानी छोराछोरीको पढाईमा खर्च भइरहेको छ । अवको तीन बर्षमा छोराछोरीको पढाई पनि सकिने भएको छ । त्यसपछि उनले घर बनाउने सोँचेका छन् । ‘यो जिन्दगीमा सानो भए पनि पक्की घर बनाउने मेरो ठूलो धोको छ । अवको तीन बर्षमा तीन कोठे पक्की भवन बनाएर छाड्ने लक्ष्यका साथ हामी अगाडी बढेका छौँ । त्यो पूरा पनि हुने छ,’ निर्मलाले भनिन् ।
तरकारी खेती र पशुपालनबाट उनले मासिक सरदर ४० हजार रुपैँया बचत गर्छिन् । तरकारी र पशुपालनमा सवैभन्दा धेरै मेहनत निर्मलाले गर्नुपर्छ । ‘पति विद्यालयको काममा ब्यस्त हुनुहुन्छ । छोराछोरीलाई पढ्ने समय दिनै पर्यो । त्यसैले मेरो अधिकांश समय खेतबारीमा बित्छ । तै पनि श्रमको फल खान पाएपाउँदा सवै दुख विर्सिन्छु । मलाई यसैमा आनन्द आउँछ,’ उनले थपिन् ।
उनको परिवारले चैते मकै खेती र बर्षातको समयमा धान खेती पनि गर्छन् । कोषा विक्रि गर्न चैते मकै खेती गरेको उनले बताइन् । ‘चैते मकै बारीबाट विक्रि हुन्छ । मकैबाट बार्षिक झण्डै ५० हजार रुपैँया आम्दानी गर्छौँ,’ निर्मलाले भनिन् ।
त्यसैगरि हिउँद र गर्मी याममा तरकारी खेती गर्ने दुई विघा खेतमा धान रोप्छन् । कम्पोष्ट मल प्रशस्त भएकोले धान पनि राम्रो फल्छ । यसले रासायनिक मल खरिद गर्ने पैँसा बचत हुन्छ । बर्षमा ३० क्विन्टल धान फलाउने गरेको उनले बताइन् । उत्पादन भएको धान बर्षभरि खान पुग्छ । धान विक्रि गरेर हामीले झण्डै ६० हजार रुपैँया बचत गर्छौँ । पशुपालन, मकै, धान र तरकारी खेतीबाट बार्षिक करिव पाँच लाख रुपैँया आम्दानी हुन्छ,’ उनले थपिन् ।
नेपाल पुरुष प्रधान देश भएकोले महिलाले मेहनत गरेर कमाएको रुपैँयामा पनि पुरुषले राख्ने र खर्च गरेको सुनिन्छ, तर उनको परिवारमा त्यस्तो छैन । तरकारी खेतीबाट आएको रकममात्र नभई विद्यालयबाट आउने रकम पनि निर्मलाले नै राख्छिन् । तर, कहाँ कति खर्च भयो भनेर पति र छोराछोरीलाई जानकारी गराउँछिन् । उनले भनिन्, ‘कुनै सम्पत्ती जोड्नु पर्ने वा कसैलाई दिनुपर्ने भयो भने पति र पत्नी वीच सल्लाह गरेर कामको योजना बनाउँछौँ । खर्च पनि त्यसैगरि गर्छौँ ।’
पहिले पहिले गोरु र राँगाले खेतबारी जोत्थ्यौँ । २०७५ सालमा तत्कालिन कृषि विकास कार्यालय, बाँकेले मिनि ट्रिलर दिएपछि यसैको सहायताले तरकारी बारी र खेत जोत्छछन् । जोत्ने काममा जेठो छोरा ललितले सहयोग गर्छन् । उनले नै तरकारी बारी तयार गर्न आमालाई सघाउँदै आएका छन् ।
मेरो भिनाजु विष्णुप्रसाद रेग्मीको नेपालगन्जमा एग्रोभेट पसल छ । उनले नै निर्मलालाई तरकारीको बेर्ना राख्ने सीप सिकाएका थिए । तरकारी खेती गर्ने प्रेरणा पनि उनले नै दिए । ‘नजानेको कुरा अहिले पनि भिनाजुसँग सोध्छु । तरकारीलाई आवश्यक पर्ने औषधि र वीउविजन उहाँले दिँदै आउनु भएको छ,’ उनले भनिन् ।
परिवारका सदस्य विहान आ–आफ्नो काममा जान्छन् । जसलाई फुर्सद मिल्छ त्यसले खाना पकाउँछ । जसले जतिबेला समय पाउँछ उसले आफ्नो समय मिलाएर खाना खान्छ, तर बेलुकीको खाना सवैजना सँगै बसेर खान्छन् । दिनभर भएका काम र प्रगतिको लेखाजोखा गर्छन् । भोलीको योजना बनाउँछन् र आज भएको कामको समिक्षा गर्दै भोलीको लागि काम गर्ने योजनाको छिनोफानो गर्छन् ।
छोराछोरी सानो छँदा धेरै दुख पाएँ । खाना पकाउने, खेतीपाती गर्ने, पशुचौपायाको रेखदेख गर्ने, छोराछोरीलाई खाना खुवाएर स्कुल पठाउने काम निर्मलाले नै गर्नुपर्ने भएकोले भ्याई नभ्याई हुन्थ्यो । ‘फुर्सद नभएर कुनै–कुनै दिन विहानको खाना खान फुर्सद पाउँदैनथेँ । तै पनि हिम्मत हारेन । आफ्नो काममा निरन्तर अगाडी बढिरहेँ । पतिले हिम्मत हारेको कुरा गर्दा मैले हौसला र हिम्मत दिएँ,’ उनले विगतमा भएको दुख सम्झिइन् ।
२०७३ सालमा निर्मला पशु सेवा कार्यालयले आयोजना गरेको तालिममा सहभागी भइन् । उक्त तालिमका प्रशिक्षक र आयोजकले पशु फार्म दर्ता गरेकालाई मात्र सम्मान गरेको उनले पाइन् । तालिमबाट फिर्ता भएपछि उनले पनि महालक्ष्मी भैँसी फार्म दर्ता गरिन् ।
उत्पादन भएको तरकारी विक्रि गर्न खासै समस्या छैन । घरदेखि करिव एक किलोमिटर पर राँझा बजारमा दीक्षा फलपूmल तथा तरकारी पसल छ । सोही पसलले उत्पादन भएको सवै तरकारी खरिद गरिदिन्छ । केहि तरकारी बारीबाट पनि विक्रि हुन्छ । दीक्षाका साहुजीले नेपालगन्जस्थित रानी तलाउ तरकारी बजारको मुल्यमा नै तरकारी खरिद गरिदिन्छन् । ‘हिसाव किताव सहि राख्ने र समयमा पैँसा दिनुहुन्छ । विश्वाशिलो भएकोले तरकारीको पैँसा मर्ला भन्ने छैन,’ उनले भनिन् ।
आँट गर्ने हो भने महिलाले पनि पुरुष सरह काम गर्न सक्छन् । तरकारी खेतीमात्र नभई कुनै न कुनै काम गरेर आत्म निर्भर बन्ने हो भने आत्मसम्मान मात्र नभई समाजले हेर्ने दृष्टिकोण पनि सकारात्मक हुन्छ भन्ने अनुभव उनले संगालेकी छन् । ‘मेहनत र आँट गर्ने हो भने तरकारी खेतीबाट पनि मनग्य दाम र नाम कमाउन सकिन्छ । दिनभर गफ चुटेर बस्नुभन्दा सानोतिनो काम गरेर आफ्नो लागि आफै कमाउँदा गर्व महशुस हुन्छ र कमाईको फल खाँदा मिठो लाग्छ,’ उनले भनिन् ।
प्रस्तुतीः विश्वराज पछल्डङ्ग्या

Previous articleसद्भावको सहर नेपालगन्ज : इस्लाम धर्मावलम्बीले लगाए भाई टीका
Next articleमुस्लिम समुदायको ढाका टोपी मोहः नेपाली राष्ट्रियता बलियो बनाउन मद्दत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here