बाँके, २० कात्तिक, २०७८ ।
सामाजिक, धार्मिक तथा साँस्कृतिक सद्भावका लागि नेपालगन्जका इस्लाम धर्मावलम्बीका अगुवाले यस बर्ष पनि भाई टीका लगाएका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले यस बर्ष पनि भाई टीका लगाएका छन् ।
उनले नेपालगन्ज उपमहागरपालिका १, धम्बोझी माइती भई राजविराजमा विवाह भएकी पुनम सिंहको हातबाट टीका लगाएको बताए । विगत १०–१२ बर्षदेखि भाई टीका लगाउँदै आएको बताउँदै उनले यसले हिन्दु र मुस्लिम वीच सद्भाव कायम गरेको बताए । नेपालगन्जमा हिन्दु र मुस्लिम वीच राम्रो सम्बन्ध छ भन्ने देश, विदेशमा सन्देश दिन टीका लगाउन थालेको बताए । ‘सकारात्मक सन्देश दिन मैले नेपालगन्जबाट टीका लगाउन सुरु गरेँ । अहिले नेपालगन्जका धेरै मुस्लिमले भाई टीका लगाउन थालेका छन् । म यसमा सफल भएको छु,’ उनले भने ।
इस्लाम धर्ममा रातो टीका लगाउन मनाही छ । तै पनि उनले हिम्मत गरे र भाई टीका लगाउन थाले । ‘धर्म गूरु र इस्लाम धर्मावलम्बीले सामाजिक बहिस्कार गर्लान, नराम्रो मान्लान भन्ने डर लाग्थ्यो, तर, मैले हिम्मत हारेन । सकारात्मक सन्देश दिनु थियो त्यो दिएँ ।’
अहिले नेपालगन्जमा भाई टीका लगाउने इस्लाम धर्मावलम्बीको संख्या बढ्दै गएको छ । ‘पहिले भाई टीका लगाउने म एक्लो थिएँ । अहिले औँलामा गन्न नसक्ने भएका छन्,’ खुसी ब्यक्त गर्दै उनले भने ।
नेपालगन्जमा हिन्दु धर्मावलम्बीहरुले इस्लाम धर्मावलम्बीको पर्वमा सहभागी हुन्छन् । खुसीयाली बाड्छन् । शुभकामना आदान प्रदान गरि सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सघाउँछन् । ‘पुनम र हाम्रो पारिवारिक सम्बन्ध छ । एक अर्काको पर्व र संस्कारको सम्मान गर्दा सद्भाव, प्रेम र भातृत्व बढ्छ भने लगाउँदा कुनै फरक पर्दैन भन्ने मान्यताले भाई टीका लगाउँछु,’ उनले भने ।
नेपालगन्ज उपमहानगरपालिका ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले पनि भाई टीका लगाए । उनले पनि विगत ६–७ बर्षदेखि टीका लगाउँदै आएका छन् । उनले नेपालगन्ज उपमहानगरपालिका १४ भवनियापुरकी लक्ष्मी चौधरीको हातबाट भाई टीका लगाउँदै आएका छन् । सामाजिक र धार्मिक सद्भावका लागि भाई टीका लगाउने गरेको उनले बताए ।
बाँके युनेस्को क्लवका संस्थापक अध्यक्ष प्रवेज अली सिद्धिकीले पनि भाई टीका लगाए । उनले विगत १५ बर्षदेखि टीका लगाउँदै आएका छन् । नेपालगन्जकी मिना तुलाधर र दिदी माया थापासँग टीका लगाउँदै आएको उनले बताए ।
उनले टीका लगाउने बेला नेपालगन्जमा एकअर्को धर्म प्रति सम्मान गर्ने सोँचको विकास भइसकेको थिएन । तर, उनले पनि टीका लगाउने हिम्मत गरे । र, बहिनी र दिदी बनाएर टीका लगाउन थाले । मुस्लिमहरु भाई टीका लगाउने, दसैँमा टीका लगाउने र हिन्दुहरु मुस्लिमको मोहरम, मोहम्मद डे लगायतका पर्वमा शुभकामना आदान प्रदान गर्ने चलनले नेपालगन्जलाई सद्भावको सहर बनाएको छ,’ उनले भने ।
नेपालगन्ज एकलैनीका हसिम अन्सारीले पनि भाई टीका लगाएका छन् । उनले पनि नेपालगन्जमा बहिनी बनाएर टीका लगाउने गरेका छन् । उनले पनि एक आपसमा सद्भाव बढाउन टीका लगाउन थालेको बताए । धर्ममा गर्न नहुने भनिए पनि समाजमा शान्ति स्थापना गर्न एकले अर्काको धर्म प्रति सम्मान गर्न जरुरी छ,’ उनले भने ।