नेपालगन्ज नाकाबाट कुनै पनि हालतमा अफगानीलाई छिर्न दिन्नौँ : सिडिओ सूर्य खत्री

बाँके, १५ कात्तिक, २०७८ ।


‘नेपालगन्ज नाकामा उच्च सतर्कता अपनाइएको छ । सुरक्षाकर्मीलाई कडाईका साथ निगरानी गर्न निर्देशन दिइएको छ । नेपालगन्ज नाकाबाट अफगानीहरु कुनै पनि हालतमा नेपाल प्रवेश गर्न पाउने छैनन्,’ बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले गोचाली खवरलाई भने ।
उनले भारत हुँदै अफगानीहरु नेपाल भित्रिने प्रवल सम्भावना देखिएकोले नाकामा कडाई गरिएको बताए । अफगानी भएको शंका लागेमा तत्काल नियन्त्रणमा लिने र भारततर्फ फिर्ता पठाउन निर्देशन दिएको पनि उनले बताए । ‘शंकास्पद ब्यक्ति फेला पर्ने वित्तिकै नियन्त्रणमा लिएर भारततर्फ नै फिर्ता पठाउने निर्देशन छ,’ उनले भने ।
उनले मुख्य नाकासँगै सहायक नाकामा पनि कडाई गरिएको बताए । सिमानाका खुल्ला भएकोले अन्य ठाउँमा पनि निगरानी गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएको उनको भनाई छ । ‘नेपाल प्रवेशका लागि नेपालगन्ज सहज नाकाको रुपमा लिइन्छ । तर, हामीले यो नाकाबाट कुनै पनि हालतमा अफगानीलाई छिर्न दिँदैनौँ,’ सिडिओ खत्रीले भने ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले पनि नाकामा कडाईका साथ निगरानी गर्न मातहतका प्रहरीलाई निर्देशन दिएको बताए । उनले नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको बताए ।

भारतीय आधार कार्ड देखाएर अफगानीहरु नेपाल प्रवेश गर्न सक्ने खतरा रहेकोले आधार कार्डलाईमात्र आधार मानेर नेपाल प्रवेश गर्न नदिन निर्देशन दिएको उनले बताए । ‘भारतमा आएका अफगानीले भारतीय आधार कार्ड बनाएर बसेको भन्ने सूचना आएको छ । आधार कार्ड देखाएर नेपाल प्रवेश गर्नसक्ने खतरालाई मध्यनजर गरि चेकजाँच गर्न निर्देशन दिएका छौँ,’ उनले भने ।
बाँके प्रशासनको निर्देशन पछि नेपालगन्ज नाकामा कडाईका साथ निगरानी गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) मिनबहादुर विष्टले बताए । उनले नेपालगन्ज नाकाबाट आउने भारतीयको परिचय खुल्ने कागजात हेर्ने गरेको बताए ।
शारिरिक बनावट, बोली, भाषा र लवजका आधारमा अफगानी नागरिकको पहिचान गर्न सकिने बताउँदै सोही अनुसार भारतबाट आउनेहरुको निगरानी गर्दै आएको बताए । ‘नेपालगन्ज नाका भएर आउनेहरुको पहिचान गर्न मातहतका प्रहरीलाई निर्देशन दिइएको छ । हामी सचेत र सजग भएर नाकामा निगरानी गर्दै आएका छौँ,’ उनले भने, ‘कुनै पनि हालतमा अफगानी नागरिक नेपाल छिर्न नदिन परिचालित भएका छौँ ।’
उनले नेपालगन्ज नाकाबाट प्रवेश गर्ने भारतीय गाडीमा समेत निगरानी बढाएको बताए । भारतीय गाडीबाट आउनेहरुको परिचय खुल्ने कागजात हेरेर प्र्रवेश गर्न दिइएको उनको भनाई छ । ‘टाढाबाट आएकालाई विशेष ख्याल गर्छौँ । नजिकबाट आएकालाई पनि सोधपुछ गरि कागजातको आधारमा नेपाल प्रवेश गर्न दिएका छौँ,’ सई विष्टले भने ।

Previous articleनेपालगन्ज आइसिपी निर्माणको काम सुस्तः एक बर्षमा १५ प्रतिशत निर्माण सम्पन्न
Next articleकोरोना वीमा बापतको रकम दिलाई पाउँ भनि वीमा कम्पनी विरुद्ध मुद्धा दायर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here