नेपालगन्ज आइसिपी निर्माणको काम सुस्तः एक बर्षमा १५ प्रतिशत निर्माण सम्पन्न

बाँके, १५ कात्तिक, २०७८ ।


भारत सरकारले गत कात्तिकमा ठेक्का सम्झौता गरि नेपालगन्जको जयसपुरमा निर्माणाधिन एकीकृत जाँच चौँकी (आइसिपी) निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ । एक बर्षमा केवल १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्जका इन्जिनियर होमनाथ भुसालले जानकारी दिए ।
भारत सरकारको दुई अर्व ३५ करोड नेपाली रुपैँयामा भारतकै राजदीप विल्डकन प्रालिले दुई बर्षमा सक्नेगरि काम थालेको छ । कम्पनीले काम थालेको एक बर्ष वित्दा पनि निर्माणले गती लिन नसकेको इन्जिनियर भुसालले बताए । ‘एक बर्षमा जति प्रगति हुनुपर्ने हो, त्यो भएको देखिदैन,’ निर्माण कम्पनीको भनाई उदृध गर्दै उनले भने, ‘तीन महिना मोविलाइज गर्ने समय लागेको र काम थाल्ने वित्तिकै दोस्रो चरणको कोरोना फैलिएकोले काममा ढिलाई भएको छ । कोरोना सकिने वित्तिकै बर्षात सुरु भएको र पानी जमेका कारण काममा बाधा पुगेको कम्पनीको भनाई छ ।’
कोरोनाले काममा चार महिना ढिलाई गरेको बताउँदै उनले निर्माण कम्पनीले भारत सरकारसँग चार महिना थप समय माग गरेको जानकारी दिए । ‘चार महिना थप भए निर्माण कम्पनीले एक बर्ष चार महिना समय पाउँछ । उक्त समयमा काम सक्ने गरि काम अगाडी बढेको देखिन्छ,’ भुसालले भने ।
आइसिपीसम्म पुग्ने सडक र पर्खाल लगाउने काम पनि सँगसँगै भइरहेको छ । दुई दशमलव दुई किलोमिटर लम्बाई र ६० मिटर चौडाई भएको उक्त सडकमा वीच बिन्दूबाट १२ मिटर कालोपत्रे गरिने इन्जिनियर भुसालको भनाई छ ।


८८ विघा क्षेत्रमा फैलिएको आइसिपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेन्टाइन, बैँक, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेक लगायतका संरचना निर्माण हुन लागेको छ । ‘एकै ठाउँबाट सम्पूर्ण सेवा प्रदान गर्ने यसको मुख्य उद्देश्य हो । यसले ट्राफिक जाम नहुने, ब्यापारीलाई ठाउँ–ठाउँमा जाने झमेला नहुने हुन्छ,’ उनले भने ।
सन् २००५ मा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्न नेपाल–भारत वीच सम्झौता भएको थियो । नेपालको विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्जमा आइसिपी निर्माण गर्ने सम्झौता भएको बताउँदै उनले विराटनगर र वीरगन्जमा निर्माण सम्पन्न भई संचालनमा आइसकेको बताए । भैरहवा र नेपालगन्जको काम सँगसँगै अगाडी बढेको उनको भनाई छ ।
आइसिपी निर्माण हुन थालेपछि आशा पलाएको नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरन्जिवी ओलीले बताए । आइसिपी संचालनमा आए यहाँका ब्यापारीलाई सामान आयात र निर्यात गर्न सहज हुने उनले बताए । उनले एक बर्षदेखि काम सुरु भए पनि सुस्त गतिमा भइरहेको बताए । निर्माण कम्पनीले विभिन्न बहाना बनाएर आफ्नो कमजोरी लुकाउन खोज्दै छ, तर जुन रफ्तारमा हुनुपर्ने हो त्यो हुन सकेको पाइएन,’ ओलीले भने ।

Previous articleनेपालगन्ज उपमहानगरलाई पालिकास्तरिय महिला भलिवल प्रतियोगिताको उपाधी
Next articleनेपालगन्ज नाकाबाट कुनै पनि हालतमा अफगानीलाई छिर्न दिन्नौँ : सिडिओ सूर्य खत्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here