बाँके, ११ कात्तिक, २०७८ ।
जिल्ला खेलकुद विकास समिति, बाँकेले १२–१४ कात्तिकसम्म खजुरास्थित भलिबल स्टेडियममा पालिकास्तरिय महिला भलिबल प्रतियोगिता गर्न लागेको छ । महिला भलिवलको राष्ट्रिय टीम तयार गर्ने उद्देश्यले पालिकास्तरिय प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले बताए ।
उनले गाउँ–गाउँबाट महिला भलिवल खेलाडी खोजी गरि उत्कृष्ट खेलाडी छनोट गरिने बताए । स्थानीय तहमा महिला खेलाडी भए पनि पहिचान हुन नसक्दा प्रतिभाहरु ओझेलमा परेको बताउँदै उनले प्रतिभाको खोजी गर्ने प्रमुख उद्देश्य भएको बताए । ‘महिला खेलाडी बाहिर आउन नसक्दा उनीहरुको प्रतिभा दवेर बसेको छ । यो प्रतियोगिताले प्रतिभाको खोजी गरि बाहिर ल्याउन मद्दत गर्ने छ,’ अध्यक्ष शाहले भने ।
प्रतियोगितामा जिल्लाका ८ वटै पालिकाका ८ वटा महिला टीम सहभागी हुने प्रतियोगिता संयोजक समेत रहेकी उपाध्यक्ष कृष्णा पाठकले बताइन् । उनले जिल्लामा महिला भलिबलको सम्भावना प्रवल रहेपनि खेलाडी बाहिर आउन नसक्दा टीम बनाउन समस्या भएको बताइन् । ‘वडा तहसम्म लुकेका प्रतिभाको खोजी गरेर जिल्लास्तरिय महिला भलिबल टीम बनाउन प्रतियोगिता आयोजना गरेका हौं,’ उनले भनिन् ।
लिककम नकआउट प्रणालीमा हुने प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्तवना हुने टीमले १० हजार रुपैँया नगद पुरस्कार र ट्रफी पाउने भएका छन् ।