बाँके, ११ कात्तिक, २०७८ ।
धारा सातौं नेपालगन्ज म्याराथनमा महानायक राजेश हमाल दौडिने भएका छन् । पश्चिम नेपालको प्रमुख शहर नेपालगन्जमा ४ मंसिरमा सातौं संस्करण हुँदैछ ।
आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले अतिथिको रुपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने जानकारी दिए । अध्यक्ष ठकुरीले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत सहभागिता हुने नेपालगन्ज म्याराथनमा महानायक हमालको उपस्थितिले अझ हौसला थपिएको बताए ।
नेपालगन्ज म्याराथनमा यसपाली दश वटा इभेन्ट रहेका छन् । फूल म्याराथन, हाफ म्याराथन, १० किलोमिटर मेन्स ओपन, ५ किलोमिटर ओमेन ओपेन्स, ५ किलोमिटर स्कूल बोय, ३ किलोमिटर स्कूल गल्र्स, किड्स रन (८ देखि १२ वर्ष), २ किलोमिटर कर्पोरेट, वाकाथन र ह्वीलचियर प्रतियोगिता रहेका छन् ।
यसपालीको म्याराथनमा सात हजारलाई दौडाउने तयारी भएको छ । देशी, विदेशी धावकसँगै जिल्लाका गन्यमान्य सबै दौडमा सहभागी हुँदैछन् । नेपालगन्ज म्याराथनले शहरलाई चिनाएको छ । फूल म्याराथनमा नेपालगन्ज र कोहलपुर जोडिने भएकाले दुई शहरलाई जोड्ने काम गरेको छ ।
अध्यक्ष ठकुरीका अनुसार, नेपालगञ्ज म्याराथनलाई भब्य र सब्य बनाउन धारा तेल, आशिर्वाद पेन्टस्, शिखर प्लाई, राष्ट्रिय बाणिज्य बैंक, फोन पे प्रत्यक्ष जोडिएका छन् । नेपालगन्ज म्याराथनलाई व्यवस्थित गर्न वेभसाइट लन्च भइसकेको छ । जहाँसुकैका खेलाडीले म्याराथनमा भाग लिनका लागि आफ्नो नाम लेखाउन सक्छन् । देशका सात वटै प्रदेशका खेलाडीलाई सहभागी गराउने तयारी भइरहेको छ । म्याराथनमा वर्षेनी नयाँ–नयाँ प्रविधि जोड्ने र सहभागिता बढाउने अभियान जारी रहेको छ ।
नेपालगन्जको वीपी चोकबाट शुरु भएर कोहलपुरको कौशिलानगर पुगेर पुनः वीपी चोकसम्म आइपुग्ने म्याराथनले देश विदेशमा नेपालगन्ज शहरको पहिचान बढाएको ठकुरीको भनाई छ ।