काँग्रेसको बैधानिकता जोगाउन नेतृत्व उदासिन छ : काँग्रेस बरिष्ठ नेता पौडेल

बाँके, ८ कात्तिक, २०७८ ।


नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको बैधानिकता संकटमा पर्ने खतरा औँल्याएका छन् । उनले तालिका अनुसार दसैँ अगाडी वडा र पालिकास्तरिय अधिवेशन सक्नुपर्ने भएपनि अहिलेसम्म सम्पन्न हुन नसक्नु दुखद भएको बताए ।
नेपाल प्रेस युनियन बाँकेले सोमवार नेपालगन्जमा गरेको पत्रकार भेट्घाटमा उनले ९ मंसिरदेखि महाधिवेशन गर्नै पर्ने कानुनी बाध्यता रहेको बताए । ‘११–१३ मंसिरसम्म महाधिवेशन सम्पन्न गरि केन्द्रिय समितिको निर्वाचन सक्नुपर्ने कानुनी बाध्यता छ । यो अवधिमा महाधिवेशन भएन भने बैधानिक संकट आउने खतरा छ,’ उनले भने ।
पार्टीको आसन्न १४ औं महाधिवेशनमा आफु सभापतिको स्वभाविक उम्मेदवार भएको समेत बताए । उनले अन्य नेताले पनि सभापतिको आकांक्षा गर्नु स्वभाविक भएको बताउँदै अन्तिममा आफ्नो समुहबाट एउटै उम्मेदवारको टुंगो लगाइने स्पष्ट पारे । ‘म १३ औं महाधिवेशनको पनि उम्मेदवार भएकाले यसपटक पनि आफ्नो समुहको म नै सर्वसम्मत उम्मेदवार हुने पक्का छ,’ पौडेलले भने ।
उनले पार्टी संकटमा पर्न सक्ने खतरा भए पनि नेतृत्व गम्भिर नभएको आरोप लगाए । कार्यसमिति बैठक बोलाउन पटक–पटक आग्रह गर्दासमेत सभापतिले सुनुवाई नगरेको जिकिर गर्दै उनले अहिलेसम्म कार्यसमिति बैठक बस्न नसक्नु दुर्भाग्य भएको बताए ।
उनले विधि र विधानको सहि सदुपयोग नभएकै कारण अहिले सेटिङको कुरा बाहिर आएको बताए । उनले न्यायालयमा समेत सेटिङ हुनु दुर्भाग्य भएको बताए । ‘प्रधानन्यायाधीशले आफूमाथि लागेको आक्षेपलाई समयमै स्पष्ट पार्नु पर्छ,’ उनले भने ।
पश्चिम क्षेत्रका बाढी तथा पहिरो पीडितको अवस्था बुझ्न आएका वरिष्ठ नेता पौडेलले बाढी पहिरो पीडितलाई उचित राहत र क्षतिपूर्ती दिनुपर्ने बताए ।

Previous article‘विश्व कण्डम डे’ को अवसरमा शनिवार निशुल्क एचआइभी परीक्षण गरिने
Next articleएमालेको आज देशभर पालिकास्तरिय अधिवेशन, बाँकेमा को-को छन् आकांक्षी ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here