विश्वराज पछल्डङ्ग्या
बाँके, २१ असोज, २०७८ ।
थारु जातिको पौराणिक भाषा, भेषभूषा, रहन–सहन, संस्कार, कला तथा संस्कृतिक परम्परा अन्य समुदाय भन्दा एकदमै भिन्न छ । आर्थिक, सामाजिक, तथा राजनीतिक हिसाबले पछि पारिए पनि साँस्कृतिक हिसाबले अन्य समुदायको तुलनामा थारु जाति दुई गुणा अगाडी छ ।
काममा ब्यस्त हुने भएकोले थकान मेटाउन कुनै काम सकिने वित्तिकै खानपिनका रमाइलो गरि गर्दथे । त्यसैले हरेक महिना एउटा पर्व पर्ने गर्दछ । थारु जातिले माघेसक्रान्तिलाई सवैभन्दा धुमधामका साथ मनाए पनि अट्वारी, कृष्ण जन्माष्टमी, दसैँ र तिहारलाई पनि धुमधामका साथ मनाउँदै आएका छन् ।
दसैँ थारु जतिका लागि महत्वपूर्ण पर्व मानिन्छ । महाभारत र कृष्ण लिलामा आधारित कथालाई गीतको लयमा ‘सख्या’ नाँच र आप्mनो घरको कुल देवतालाई पशुपंछी बलि दिने, ढिक्री चढाउने, बाबरी फुल, मकैको जमरा, रक्सी र जल चढाउने, बेलको हाँगामा ढिक्री फलाउने, कुपिण्डोको भेँडा बनाएर देउताको अगाडी बली दिने जस्ता धार्मिक काम पनि दसैँमा गरिन्छ ।
दसैँमा पाठपूजाका साथै ‘सख्या’ नाँचको ठूलो महत्व छ । थारु जातिका बठिन्या (यूवती) ले महाभारत आधारित कथालाई गीतको लयमा उनेर सख्या नाच नाच्दछन् । यूवाको समुहले युवतीले गाएको गीतको लयमा मादल बजाउँछन् । यो नाच कृष्ण जन्माष्टमीको रात रातदेखि गाउन सुरु गरिन्छ ।
टेँर्रा थरका थारु जाति तृतियाको दिन श्राद्ध गर्दछन् । उक्त युवतीहरुले कुपिण्डोको फूल लिएर नाच्दछन् । भने, पञ्चमीका दिन दहित थरले गर्ने श्राद्धमा भुरभुरा र मजिउराले सख्या नाँच नाचिन्छ ।
तन्त्र मन्त्रम आधारित ‘सख्या’ नाच गाउँका मटावा (बरघर) को आङ्गनमा गीत गाउँदै नाच्ने प्रचन छ । दुई वटा समुह वनाएर नाचिने यो नाचमा एक जना मोह्रिन्या (अगुवा) र अर्को एक जना पछ्गीन्या (दोस्रो अगुवा) बनाइएको हुन्छ । मोह्रिन्याले गीत उठाउँछन् र पछगिन्याले गीतलाई दोहोर्याउँछन् । अन्य यूवतीले गीत गाउन सहयोग गर्छन् ।
यूवतीले गीत गाउँछन् भने यूवाले मादल बजाउँछन् । जुन समुहले गीत गाउँछन् त्यहि समुहमा गएर मादल बजाउँछन् । मादल बजाउने समुहमा पनि एक जना नेता र अर्को उपनेता हुन्छन् । नेताको तालमा अरु यूवाले मादल बजाउँछन् ।
‘पैँया’
सख्या नाँचम पैँयाको ठूलो महत्व छ । सख्या नाँचको विच–विचमा पैँया लाग्ने गरिन्छ । सख्या नाच्ने यूवतीले मादलको तालमा थरिथरिको मादलको तालमा पैँया नाच नाच्दछन्् ।
जिउँरा ढर्ना
अरु समुदायले मनाए जस्तै थारु समुदायको दसँै पनि घटस्थापनाको दिन देखि सुरुवाट भएको पाइन्छ । घटस्थापनाको दिन नै थारु समुदायले नुहाईधुवाइ गरि शुभसाइतमा मकैको जमरा राख्ने चलन छ । थारु समुदायका पुर्खाहरुले प्रायः मकैको जमरा राख्दै आएकोले अहिले पनि प्रायःले मकैको जमरा राख्ने गर्दछन् । यहि जमरा आफ्ना कुल देवतालाई चढाउने प्रचलन रहिआएको छ ।
पैनअस्टोपी ढुइना
विजयादशमी अन्तरगत सप्तमीको दिन थारु जाति ले मुज र काँसले बुनेको ‘पैनअस्टोपी’ धुन्छन् । दसैँमा आफ्नो कुल देवतालाई चढाउने चामलको ढिक्री पकाउने भाँडोेलाई ‘पैनअस्टोपी’ भनिन्छ । पैनअस्टोपी धुने महिलाले पूजामा चाहिने पिर्का, गुन्ड्री, ढक्या, छिट्वा नजिकको नदी, ताल, पोखरी, खोला वा नहरमा गएर धुन्छन् । पैनअस्टोपी धुनेबेला लगेको बढार्नी नदीमा छोडेर आउने चलन छ । गाउँका महिलाहरु सल्लाह गरेर एकैसाथ पैनअस्टोपी धुन नदीमा जान्छन् ।
ढिक्रह्वा
थारु जातीले महाअस्टमीको दिनलाई ‘ढिक्रह्वा’ भन्दछन् । ढिक्रह्वाको बेलुकी पख आफ्नो घरको कुल देवतालाई ढिक्री चढाउँछन् । ढिक्रीको साथमा बाबरी फुल, मकैको जमरा पनि चढाउँछन् । मादल बजार देवतालाई रमाईलो गराउँछन् । ढिक्री, बाबरीको फूल र मकैको जमरा चढाएर सकेपछि परिवारका सदस्यले खान्छन् ।
सवैभन्दा पहिले देवताको थान भएको कोठको देवतालाई चढाउने चलन छ । त्यसपछि बैठक कोठमा भएको ‘ढमरज्वा’ र पूर्वतर्फको आङ्गनमा रहेकी पूर्विन्या भगवतीलाई ढिक्री, मकैको जमरा र बाबरी फूल चढाइन्छ । ढिक्री, जमरा र बाबरीको फूल चढाईसकेपछि डिउह्रार कोठालाई एकछिन् सुनसान बनाइन्छ । कोठा सुनसान बनाए बनाए देवता प्रसाद खान आउँछन् भन्ने विश्वास रहेको छ ।
ढिक्री चढाउने बेला बेलको हांगामा ढिक्री फलाइन्छ । र, कुपिण्डोको भेँडा बनाइन्छ । जुन भेँडालाई नवमीका एकाविहान मार हान्ने गरिन्छ ।
पछल्डङ्ग्या थरका थारुले ढिक्रह्वाको बेलुकी नै आफ्ना देवतालाई चल्लाको वली दिन्छन् । यो थर भएका थारुले अष्टमीको बेलुकी आफ्ना देवतालाई पाँच या सात वटा चल्ला चढाउँछन् । देसबन्ध्या चलाउने पछल्डङ्ग्याले सुँगुर र बोका पनि चढाउने चलन छ । पछल्डङ्ग्या बाहेक अन्य थरु भएका थारुले महानवमीको विहान आफ्ना देवतालाई चल्ला, बोका र भेँडा चढाउने प्रचलन रहिआएको छ ।
दसैँमा पुजा गर्ने ढिक्री कस्तो हुन्छ ?
दसैँमा आफ्नो देवतालाई चढाउने चामलको पिठोको ढिक्री बनाइन्छ । तर, देवतालाई चढाउने ढिक्री विभिन्न थरिको हुन्छ । ति मध्ये एउटा गोलो खालको बनाइन्छ । त्यसैगरि, धेरै वटा लठ्ठी बनाएर त्यसलाई डोरीले बाँधेको ढिक्री बनाइन्छ । त्यसलाई ‘ब्वाझा’ ढिक्री भनिन्छ । त्यस्तै, छिट्वा, पौवा, चुल्हो र लट्ठी ढिक्री बनाएर आफ्ना देवतालाई चढाइन्छ । देवतालाई चढाएको उक्त ढिक्री आफ्ना चेलीबेटीलाई पनि प्रसादको रुपमा बाँड्ने गरिन्छ ।
पचोई
गाई, भैँसीको सुरक्षाका लागि दसैँमा आफ्नो गोठको ढोकाको माथि ढिक्री राख्ने गरिन्छ । भलाको पातमा ढिक्री बेरेर गोठ र घरको मुल ढोकामा भलाको पातामा ढिक्री राख्दा गोरु, भैँसी र परिवारका सदस्यलाई रोग, ब्याधि लाग्दैन भन्ने धार्मिक विश्वास छ ।
गवल्या टीका
दसैँको महानवमीको दिनलाई थारु जातिले ‘गवल्या’ टीका भन्दछन् । आप्mनो घर र गाउँका मटावाँको घरमा गएर टीका लगाइने भएकोले यो दिनलाई थारु जातिले गवल्या टीका भन्दछन् । गवल्या टीकाका दिन सेतो चामलको टीका लगाउने प्रचलन रहेको छ । थारु जाति प्रकृति पुजक भएकोले दसैँमा पनि थारु जातिले आफ्नो देवतालाई चामलको सेतो टीका लगाउने गरेको थारु संस्कृतिका जानकारी एकराज चौधरीले बताए ।
यसै दिन गाउँका प्रत्येक घरबाट एकजना गाउँको मतौँको घरमा गएर टीका लगाइन्छ । टीका लगाउने बेला मादल बजाइन्छ । यहि साँझ गाउँको ‘भूइँह्यार’ लाई पनि टीका लगाएर पूजा गरिन्छ । पूरै गाउँका मानिस भेला भएर दसैँको शुभकामना दिने र ढोकभेँट गर्छन् । टीका लगाउने बेला वर्कीमार गीत पनि गाइन्छ ।
टीका लगाएर सकेपछि गाउँका बठिन्याले सख्या नाच नाच्छन् । अन्य दिन रातीमात्र नाच्ने सख्या नाच त्यस दिन दिउँसो नाच्ने प्रचलन छ ।
गवल्या टीकाको विहान पछल्डङ्ग्या थरका थारु बाहेक अन्य थरका थारुले चल्ला, सुँगुर र खसी आप्mना देवतालाई चढाउँछन् । महानवमीको विहान सबैले आफ्नो पितृलाई निधार, जिव्रो, छाती, कुहिनो र पैतालाबाट रगत निकालेर आफ्नो देवतालाई चढाउने चलन रहेको छ । यसलाई थारु जातिले ‘बान’ चिर्ने भन्दछन् । रगत चढाउनु भनेको आफ्नो पितृलाई ज्यान दिन पनि तयार छु भन्ने देखाउन थारु जातिका मान्छेले आप्mनो शरिरको मुख्य–मुख्य ठाउँ चिरेर रगत निकाल्ने र आफ्नो देवतालाई चढाउँछन् ।
महानवमीका विहान आफ्नो देवतालाई ‘पिट्टर’ दिन्छन् । पाँच टपरी भात, मासको दाल, माछा र अरु तरकारी खानका लागि देवतालाई दिइन्छ । देवतालाई दिएको भात र तरकारी घरका पुरुषले खाने चलन भए पनि रजस्वला नभएका कन्या केटीलाई पनि खान दिइन्छ ।
देवता भएको कोठाको सवैभन्दा उत्तरतर्फ राखिएको टपरीको भात र तरकारी खान मिल्दैन । यो टपरीको भातमा देवताले दाँत कोट्याउनका लागि सिङ्का पनि राखिन्छ ।
देवताहरु पिट्टर खान आउँछन् भन्ने धार्मिक मान्यता अनुसार पिट्टर दिएर सकेपछि देवताल भएको कोठालाई एकछिन सुनसान बनाइन्छ । पिट्टर खानेबेला टपरीको भात एताउता खस्काउन पाइदैन । पिट्टर खाएर सकेपछि एक पटक मात्र हात धोएर उठ्नु पर्छ ।
पिट्टर खाएर सकेपछि गाउँका महिला एकसाथ भएर नजिकको नदी, ताल, खोला, पोखरीमा गएर पिट्टर अस्राउँछन् । टेँर्रा र दहित थरका थारुले क्रमशः तितृया र पञ्चमीका दिन आफ्ना पितृलाई पिट्टर दिने भएकोले सोही दिन नै अस्राउँदछन् ।
डेश्वर्र्या (राजा) टीका
घर र गाउँका ठूला बडाभन्दा बाहिरका मान्यजनसँग टीका लगाउने भएकोले विजयादशमीलाई थारु जातीले डेस्वर्या टीका भनेका हुन् । विजयादशमीलाई थारु जातीले राजा टीका पनि भन्दछन् । यहि दिन नेपालका राजाले भाईभारदार, प्रधानमन्त्री, मन्त्री, विभिन्न कुटनीतिक नियोगका पदाधिकारी, राजनीतिक दलका नेता, सरकारी निकायका प्रमुख र सर्वसाधारणलाई दसैँको टीका लगाई दिने भएकोले विजयादशमीलाई राजा टीका भनिएको दाङ पछ्ला प्रगन्नाका देसबन्ध्या गुर्वा लिलामणी चौधरीले बताए ।
खास गरि राजा टीका थारु जातिले मनाउँदैनन् । त्यहिभएर यो टीकाको यो जातीमा खासै महत्व रहदैन । तर, अन्य जाती र समुदायको देखासिखी गरि पछिल्लो समय यो जातीले पनि राजा टीका लगाउन थालेका छन् । धार्मिक, जातिय तथा सामाजिक सद्भावको लागि थारु जातिले पनि राजा टीका लगाउन थालेको पत्रकार एवम् थारु संस्कृतीका जानकार एकराज चौधरी बताउँछन् ।
डिउँटा बइठइना
देवीदेवतासँग सम्बन्धित भएकोल सख्या नाच सुरु गर्नुभन्दा पहिले देवताको नाममा हरेक दिन मादलको झ्वाङ मार्नु पर्छ । त्यसैगरि हरेक दिन नाचेर सकेपछि पनि मादलको झ्वाङ मारेर नाचको विट मार्ने चलन छ । सख्या नाचमा महाभारतमा आधारित गीत नसकिदासम्म वीचमै नाच छोड्न मिल्दैन । त्यसैले यूवतीको समूहले गीत गाएर नसके गीत सिकाउने महिलाले उक्त गीत गाएर सक्नै पर्ने हुन्छ । गीत गाएर सकेपछि देवताको नाममा पूजा गरि देवतालाई बसालिन्छ ।
दसैँमा सख्या नाच नाचेमा गाउँको अन्नवाली सप्रिना, गाउँको सुरक्षा हुने जस्ता जन विश्वास रहेको छ । सख्या गीतमा देवीदेवता, अन्नवाली, चराचुरुंगी, जनावरको नाम लिइन्छ । लगातार एक महिनासम्म नाचे पनि सख्या गीत सकिदैन । तर समय अभावका कारण हिजो आज कम समयमा नाच सक्ने परम्पराको विकास भएको छ ।
सख्या नाच नाच्ने बेला यूवाको समुहले मादल बजाएर सहयोग गरेको खुसीयालीमा यूवतीको समुहले मादल बजाउने यूवाको समुहलाई सम्मान गर्दछन् । यूवतीले मादल बजाउनेहरुलाई माछा, मासु, जाँड, रक्सी लगायत मिठो मसिनो खुवाएर भब्य सम्मान गर्ने गरेको थारु अगुवा लोकजन चौधरी बताउँछन् । त्यहि रात सख्या नाचको सबै गीत सक्नुपर्ने भएकोले अवेर रातसम्म नाच्दछन् । नाचेर सकेपछि देवताको नाममा मादलको झ्वाङ मारेर नाच समापन गरिन्छ । यसलाई थारु जातीले ‘डिउँटा बैठैना’ भन्दछन् ।