बाँके, १९ असोज, २०७८ ।
प्रथम बागेश्वरी कप फुटवल प्रतियोगितामा हेल्थ वेनिफिटनेस र नेपाली सेनाको भैरवप्रसाद गण सेमिफाइनलमा पुगेका छन् । रोयल नेपालगन्ज फुटबल क्लवको आयोजनामा नेपालगन्ज रंगशालामा जारी क्लबस्तरीय फुटबल प्रतियोगितामा आयोजक रोयल नेपालगन्ज फुटबल क्लव र न्यू डाँफे स्पोर्टस क्लव पनि यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
हेल्थ वेनिफिटनेसले नवदुर्गा र भैरवप्रसाद गणले साइनिङ स्टारलाई पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् । बाइ पाएर एकैपटक क्वाटरफाइनलमा पुगेको हेल्थ वेनिफिटनेसले नवदुर्गा युथ क्लवलाई ३–१ गोलले पराजित गरेर सेमिफाइनलमा पुगेको आयोजकले जनाएको छ ।
खेलको २६ औँ मिनेटमा हेल्थ वेनिफिटनेसका गोल गरेका सनम घर्तीले ४१ औँ मिनेटमा उनले नै दोस्रो गोल गरे । वेनिफिटनेसका विशाल पाण्डेले ७० औँ मिनेटमा अर्को गोल गरे ।
नवदुर्गाका निर्मल चन्दले ७२ औँ मिनेटमा एक गोल गरे । खेलमा वेनिफिटनेसका सनम घर्ती म्यान अफ म्याच भए । उनलाई नेपालगन्ज उद्योग बाणिज्य संघका सदस्य श्यामसुन्दर अधिकारीले पुरस्कृत गरे ।
अर्को खेलमा नेपाली सेनाको भैरवप्रसाद गणले साइनिङ स्टार युथ क्लवलाई २–० गोलले पराजित गरे । भैरवप्रसाद गणले २५ औँ मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । अनमोल कार्कीले ७० औँ मिनेटमा गोल गरेर अग्रता बढाएका थिए । २१ असोजसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ११ हजार एक सय ११ रुपैँया र द्वितिय हुनेलाई ५१ हजार एक सय ११ रुपैँया, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ ।