बाँके, १८ असोज, २०७८ ।
रोयल नेपालगन्ज फुटबल क्लवले आयोजना गरेको प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले विजयी सुरुवात गरेको छ । सोमवार भएको खेलमा भैरवप्रसाद गणले युनाइटेड क्लवलाई ३–० गोलले पराजित गरि विजयी सुरुवात गरेको हो ।
भैरवप्रसाद गणका खेमराज शर्माले ५६ औँ मिनेटमा अग्रता दिलाए । खेलका ६१ औँ मिनेटमा संगम चौधरीले गोल गर्दै भैरवप्रसाद गणको अग्रतालाई फराकिलो बनाए । त्यसपछि नेपाली सेनाका शर्माले नै ६८ औँ मिनेटमा अर्को गोल गरेपछि भैरवप्रसाद गण सहजै विजयी भयो ।
मध्यान्तरसम्ममा कडा चुनौती दिएको युनाइटेड क्लव पहिलो गोल खाएपछि खस्किएको थियो । एक गोलको अग्रतापछि भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की नै मैदानमा उत्रिएका थिए । गणपति नै मैदानमा उत्रिएपछि सेनाको खेलाडीको हौसला अझ बढेको थियो ।
खेलमा भैरवप्रसाद गणका युद्ध शाही म्यान अफ द म्याच भए । उनलाई ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डनले पुरस्कृत गरे । नेपालगन्ज रंगशालामा चलिरहेको क्लवस्तरीय प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ११ हजार एक सय ११ रुपैँया र द्वितिय हुनेलाई ५१ हजार एक सय ११ रुपैँया, मेडल, ट्रफी र प्रमाणपत्र दिइने छ ।