स्वास्थ्य सेवातर्फको कार्य सम्पादनमा डुडुवा गाउँपालिका बाँकेकै उत्कृष्ट

बाँके, १६ असोज, २०७८ ।


स्वास्थ्य सेवा अन्तर्गतको कार्य सम्पादनमा डुडुवा गाउँपालिका बाँकेको उत्कृष्ट स्थानीय तह भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले गरेको मूल्यांकनमा डुडुवा गाउँपालिकाले सबैभन्दा बढी ७६ अंक ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत धिरजंग शाहले जानकारी दिए ।
स्वास्थ्य सेवा अन्तर्गत विभिन्न सूचकको आधारमा मूल्यांकन गर्दा डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको उनले बताए । प्रमुख शाहले बाँके जिल्लामा डुडुवाले विगतका वर्षदेखि नै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएकोले त्यसले स्वास्थ्य सेवामा सुधार ल्याएको बताए ।
कोरोना महामारीका बीच पनि आमा सुरक्षा, नवजात शिशु सुरक्षा, क्षयरोग निवारण, कुष्ठरोग लगायतका स्वास्थ्य सेवामा डुडुवा गाउँपालिकाले राम्रो सुधार गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले हरेक वर्ष जिल्लामा स्वास्थ्य क्षेत्रमा कार्यसम्पादन गर्ने पालिकाको सूचकको आधारमा मुल्यांकन गर्दै आएको छ ।


स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरेको दुई दिने जिल्ला स्तरिय जनस्वास्थ्य क्रियाकलाप सम्बन्धि वार्षिक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले डुडुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढालाई उत्कृष्टताको कदर पत्र प्रदान गरे । त्यस अवसरमा डुडुवा स्वास्थ्य शाखा प्रमुख बुढाले पालिकामा संचालन गरिएका स्वास्थ्य सेवा तथा कार्यहरुका बारेमा जानकारी गराए । डुडुवा गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर ‘घर–घरमा स्वास्थ्य सेवा अभियान’ संचालन गर्दै आएको उनले बताए ।
अहिले पालिकाका तीन वटा स्थानमा निशुल्क प्रयोगशाला, जेष्ठ नागरिक गाउँपालिका अध्यक्ष कार्यक्रम, दुई वटा एम्बुलेन्स संचालन, सबै स्थानमा सुविधा सम्पन्न आधारभूत सेवा, सर्वसुलभ स्वास्थ्य सेवाका लागि गाउँमा दुई वटा थप स्वास्थ्य एकाईको स्थापना, नेपाल सरकारले उपलब्ध गराउने औषधी बाहेक मधुमेह, ब्लड प्रेसर तथा जटिल रोगको उपचारका लागि निःशुल्क औषधीको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
उनले गाउँघर क्लिनिक, खोप, प्रसुती सेवा र स्वास्थ्य समस्या आउने वित्तिकै घरमै स्वास्थ्यकर्मीद्वारा सेवा प्रदान जस्ता कार्यक्रम गर्दै आएको बताए ।
यसैगरि, जानकी गाउँपालिका दोस्रो र खजुरा गाउँपालिका तेस्रो भएका छन् । मुल्यांकनका आधारमा ती दुई पालिका दोस्रो र तेस्रो भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत शाहले बताए ।
गर्दै आएको छ ।

Previous articleबागेश्वरी नकआउट फुटवल प्रतियोगितामा रोयलको फराकिलो जीत
Next articleकोरोना जाँचका नाममा नेपालीलाई नाकामा सास्ती, रिपोर्ट लिन तीन घण्टा कुर्नुपर्ने बाध्यता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here