भारतबाट फर्किदै गरेका नेपालीसँग रकम असुल्ने प्रहरीका नाइके जमुनाहका सईलाई उन्मुक्ति दिएकोमा बाँके प्रहरीको चर्को आलोचना

बाँके, १४ असोज, २०७८ ।
बुधवार विहान ६ बजेदेखिनै कामका लागि भारत गएका नेपाली फर्किने क्रम सुरु हुन्छ । रुपइडिहास्थित भारतीय प्रहरी र भारतीय सशस्त्र सीमा बल (एसएसवी) को चर्को गाली र सास्ती खेपेको नेपालीले नेपाल प्रहरीको पनि उस्तै सास्ती खेप्नु पर्यो । काँध र टाउकोमा लत्ताकपडाको गुण्टा, हातमा झोलाको भारी बोकेका नेपालीलाई सीमा खटिएका सुरक्षाकर्मीले रोक्छन् । चाडपर्व मनाउनकै लागि झण्डै १२ सय किलोमिटर दूरी पार गरेर आएका नेपालीलाई आफ्नै देशका सुरक्षाकर्मीले रोकेर सास्ती दिएपछि मन नरुने कुरै भएन । तै पनि सुरक्षाकर्मीले भने अनुसार लाइनमा बस्ने, एन्टिजेन मार्फत कोरोना जाँच गराउने र सुरक्षाकर्मीले मागे अनुसारको रकम बुझाएर आफ्नो गन्तब्ततर्फ लाग्न बाध्य छन् नेपाली ।
बुधबार विहान भारतबाट आउँदै गरेका नेपालीसँग इलाका प्रहरी कार्यालयबाट जमुनाहमा खटिएका प्रहरीले सामान जाँच पासको नाममा रुपैँया असुल्दै थिए । झोला र गुण्टा देखाउन भन्ने र उनीहरुसँग रुपैँया मागेको सर्वसाधारणले पनि प्रष्ट देख्न सकिन्थ्यो । काम गरेर भारतबाट फर्किदै गरेका नेपालीसँग रकम असुल्ने प्रहरीका नाइके हुन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक पूर्णबहादुर खत्री । उनकै कमाण्डमा खटिएका प्रहरीले हटारुसँग रकम असुल्दै गर्दा खत्री पनि जमुनाहमै थिए । उनका सहायकले उनकै अगाडी मोटो रकम असुल्दा पनि उनी नदेखेको बहाना गर्दै आफ्ना सहायकको गलत कार्य लुकाउन पत्रकार र अन्य सर्वसाधारणको ध्यान रिक्सा तर्फ केन्द्रीत गर्न खोज्दै थिए ।
इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज खत्रीको टोलीले हटारुसँग मोटो रकम लिइरहेको भन्ने सूचना बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारी र प्रहरी प्रवक्ता समेत रहेका डिएसपी मधुसुदन न्यौपाने समक्ष पुग्यो । प्रहरीको गाडी र ड्रेसमा आए जमुनाहमा खटिएका प्रहरीले थाहा पाउने भएकोले उनीहरु अटो रिक्सा चढेर सिभिल ड्रेसमा जमुनाह पुगे । गोप्य सूचनाको आधारमा उनीहरु हटारुसँग रकम लिदै गरेका प्रहरीलाई नियन्त्रणमा लिए र उनीहरुको साथबाट झण्डै एक हजार भारतीय रुपैँया जफत गरे ।
त्यसपछि उनीहरु भारतबाट फर्किदै गरेका नेपालीसँग रकम असुल्ने प्रहरीका नाइके पूर्णबहादुर खत्री बाहेक सवैलाई जिल्ला तान्ने प्रतिवद्धता जनाउँदै जिल्ला फर्किए । नभन्दै इलाका प्रहरी कार्यालयमा खटिएका असई, हवल्दार सहित १७ जना प्रहरी जिल्ला तानिए । तर, विडम्बना यी १७ जनाको मुख्य नाइके खत्रीलाई एसपी र डिएसपीले जमुनाहमै राखेका छन् । ‘एसपी र डिएसपीले इन्चार्जलाई नचलाउनु भनेको सानालाई ऐन, ठूलालाई चैन’ भन्ने उखान सावित भएको छ,’ नागरिक समाजका एक अगुवाले भने ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले पनि तल्लो तहका १७ जना प्रहरीलाई जिल्ला तानेर बाँके प्रहरी प्रमुख र सहायक प्रमुखले गल्ती गरेका बताएका छन् । उनले सक्ने भए इन्चार्जलाई हटाएर देखाउन चेतावनी दिएका छन् । ‘बाँके एसपी र डिएसपीसाव जमुनाहका सइलाई तानेर त देखाउनुस् बल्ल न्यायपूर्ण मानिने छ । डिआइजीको पावरमा काज सरुवा भएर आएका सई पूर्ण खत्रीलाई छुन सम्म नसक्ने र पावरलेस १७ जना प्रहरीलाई जिल्ला तानेर डम्फु पिट्नु बाँके प्रहरी प्रमुखको विभेदकारी व्यवहार हो । १८ जनामा १७ जना सजायको भागिदार बन्छन् भने इन्चार्ज चाहीं चोखो हुन सक्छ ? सानालाई ऐन ठुलालाई चैन ……..’ भण्डारीले आफ्नो फेसबुक वालमा लेखेका छन् ।
१७ जनालाई जिल्ला तानिएको एसपीद्वारा स्विकार
नाकामा खटिएर सन्तोषजनक काम नगरेको भन्दै प्रहरी हवल्दारसहित १७ जनालाई जिल्ला तानिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले स्विकार गरेका छन् ।
बुधबार बिहान डिएसपी मधुसुदन न्यौपाने सँगै नाकामा छड्के अनुगमन गर्ने क्रममा त्यहाँ खटिएका प्रहरीले सन्तोषजनक काम गरेको नपाइएपछि जिल्ला तानिएको उनले बताए । ‘नागरिकको सुरक्षाका लागि खटिएका केहि प्रहरीले अनावश्यक दुख दिएको पाइएपछि उनीहरुलाई जिल्ला तानिएको हो,’ उनले भने ।
उनले इन्चार्ज बाहेक सवैलाई जिल्ला तान्ने नाकामै बताएका थिए । ‘मेरो पावर पुग्दासम्म सवैलाई तान्छु । मेरो पनि केहि समस्या र चुनौती छन् । मेरो अधिकारले भ्याएसम्म मैले सवैलाई आज नै जिल्ला झिकाउँछु,’ जमुनाह नाकामै एसपी अधिकारीले भनेका थिए । (काम गरेर भारतबाट फर्किदै गरेका नेपालीलाई हटारु भनिएकोमा क्षमा याचना गर्दै सच्याइएको छ ।)

Previous articleचाडपर्वका बेला समस्या परे तत्काल जानकारी गराउन बाँके प्रहरीको अनुरोध (कुन-कुन नं. मा फोन गर्न सकिन्छ ?)
Next articleभेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा रेडियोलोजिष्ट डा. चन्द नियुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here