बाँके, १२ असोज ।
६ महिना अघि कामका लागि भारतको हिमाञ्चल प्रदेश कुल्लु मनाली गएका सल्यानका जंगबहादुर खड्का सोमवार हस्याङ फस्याङ गर्दै जमुनाह नाका आइपुगे । शरिरभन्दा ठूलो भारी बोकेका उनलाई जमुनाह नाकामा खटिएका सुरक्षाकर्मीले कोरोना परीक्षणका लागि हेल्थ डेस्कतर्फ पठाए । एन्टीजेन प्रविधिबाट कोरोना जाँच गराएर उनी आफ्नो साथीभाईसँग नेपालगन्ज तर्फ लागे । उनी दसैँ र तिहार मनाउन घर फर्किएको बताए । उनी भन्छन्, ‘भोको पेटले भारत लग्यो, दसैँ र तिहारले स्वदेश फर्कायो ।’
सुर्खेत मेहलकुनाका दशरथ विक पनि मंगलवार विहान जमुनाह नाका पुगेका छन् । कामका लागि भारतको चण्डीगढ गएका उनी पनि चाडपर्व मनाउनकै लागि स्वदेश फर्किएको बताए । दसैँ नजिकिएपछि अर्काको देशमा बस्न मनले नमानेको उनको भनाई छ । ‘खान, लाउन समस्या भएपछि कामको खोजीमा भारत गएँ । चाडपर्व नजिकिएपछि मन थाम्न नसकेर काम छोडेर स्वदेश फर्किए,’ उनले भने ।
कर्णाली प्रदेशको सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, कालिकोट, जुम्ला लगायत सुदूरपश्चिमको अछाम र लुम्बिनी प्रदेशका दाङ, रुकुम पश्चिम, रोल्पा र प्यूठानका सर्वसाधारण नेपालगन्ज नाका भएर आउने गरेका छन् । भारतबाट आउनेहरु चाडपर्व मनाउनै लागि स्वदेश फर्किएको बताउँछन् । काम राम्रो थियो, कमाई पनि चित्त बुझ्दो थियो, तर काम र दाम भन्दा चाडपर्व ठूलो लाग्यो । चाडपर्वले काम छोड्न बाध्य बनायो,’ बबई गाउँपालिका–४ का निमबहादुर बस्नेतले भने ।
खड्का, विक र बस्नेत जस्तै दसैँ र तिहार मनाउनका लागि स्वदेश फर्किने नेपालीको संख्या बढ्दै गएको छ । नेपालगन्ज नाकाबाट दैनिक सरदर दुई हजार नेपाली स्वदेश फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायव निरीक्षक पूर्ण खत्रीले जनाए । उनले भारतबाट आउनेको संख्या दिनदिनै बढेको बताए । ‘दसैँ जति नजिकिदै छ, त्यति धेरै भारतबाट आउनेको संख्या बढेको छ,’ उनले भने ।