बाँके, ८ असोज, २०७८ ।
नेपाली काँग्रेस, दाङको पालिकास्तरिय अधिवेशन सम्पन्न भएको छ । कुनै पालिकामा सर्वसम्मत र कुनै पालिकामा निर्वाचन मार्फत पदाधिकारी चयन भएका छन् । सम्पन्न निर्वाचनमा पूर्व सिँचाई मन्त्री दीपक गिरिको प्यानल बलियो देखिएको छ । नेपाली काँग्रेस दंगीशरण गाउँपालिकाको सभापतिमा शम्भु गिरि निर्वाचित भएका छन् ।
शनिवार भएको अधिबेशनमा गिरिले ७६ मत पाए । उनका प्रतिद्वन्द्वी हर्कबहादुर बुढाथोकीले ४३ मत पाए । उपसभापति, सचिव, सह–सचिवसहित सबै पदमा गिरिकै प्यानल विजयी भएको छ । १२२ मतमा १२१ मत खसेको थियो ।
नवनिर्वाचित सभापति गिरिलाई दीपक गिरिको समर्थन थियो । भने, बुढाथोकीको प्यानललाई पूर्व सांसद गेहेन्द्र गिरिले साथ दिएका थिए ।
यसैगरि, बबई गाउँपालिकाको सभापतिमा प्रकाश बस्नेत निर्वाचित भएका छन् । उनलाई पनि दीपक गिरिको समर्थन थियो । शुक्रवार निर्विरोध निर्वाचित भएका शान्तिनगर गाउँपालिकाका सभापति झलक केसी पनि गिरि निकट मानिन्छन् । तुल्सीपुर उपमहानगरपालिकामा पनि दुई प्यानल चुनावी मैदानमा छन् । यी दुई मध्ये एउटालाई दीपक गिरि र अर्कोलाई गेहेन्द्र गिरिको समर्थन रहेको छ । सभापतिमा सुरेश हमाल र अनिल कार्की प्रतिष्पर्धामा छन् ।