एक लाख ११ हजार रुपैँया राशीको फुटवल प्रतियोगिता नेपालगन्जमा गर्ने तयारी

बाँके, ८ असोज, २०७८ ।


कोरोनाको संक्रमण दर घटेपछि करिव सवा लाख रुपैँया राशीको फुटबल प्रतियोगिता नेपालगन्जमा हुने भएको छ । रोयल नेपालगन्ज फुटबल क्लवले १५ असोजदेखि नेपालगन्ज रंगशालामा ‘प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिता’ गर्न लागेको क्वलका अध्यक्ष सूर्यमणी अधिकारीले बताए ।
कोभिडका कारण थला परेको खेलकुदको विकास गरि जिल्लाका खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता गर्न लागेको एन्फा लुम्बिनी प्रदेशका उपाध्यक्ष समेत रहेका अधिकारीले बताए ।
प्रतियोगितामा सहभागिताका लागि ११ असोजसम्म टीम दर्ताको समय तोकिएको उनले बताए । ‘बाँके जिल्ला फुटबल संघ, राष्ट्रिय खेलकुद परिषद्, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकार मध्ये कुनै एकमा दर्ता भएका क्लवले मात्र प्रतियोगितामा भाग लिन पाउने नियम बनाइएको छ,’ उनले भने । प्रतियोगितामा भाग लिने खेलाडी बाँके जिल्लावासी हुनु पर्नेछ । विभागीय क्लवको हकमा बाँके जिल्लामा कार्यरत हुनुपर्नेछ ।
प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैँया, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितिय हुनेलाई ५१ हजार एक सय ११ रुपैया तथा मेडल, ट्रफी र प्रमाणपत्र दिइने घोषणा गरिएको छ ।
बाँकेमा फुटबल संघमा ११ वटा क्लव आवद्ध रहेको अध्यक्ष भोजराज शाहीले बताए । त्यसबाहेक राखेप, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारमा दर्ता भएका डेढ दर्जनबढी क्लवले प्रतियोगितामा भाग लिने क्लवका महासचिव दीर्घराज आचार्यले जानकारी दिए ।
बाँके जिल्लाका खेलाडीलाई लक्षित गरि आयोजना हुन लागेको प्रतियोगितामा सहभागी खेलाडीबाट जिल्लाको एउटा टीम निर्माण गर्न सघाउ पुग्ने विश्वास संघका अध्यक्ष शाहीले बताए ।

Previous articleडुडुवाका विद्यालय आइतवारदेखि संचालनमा आउने, कक्षा कोठा सफा र स्वच्छ बनाउन स्प्रे गर्न सुरु
Next articleबन्यजन्तु ओसार पसारका फरार कसुरदार पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here