बाँके, ०७ असोज, २०७८ ।
बर्षेनी हुने कटान तथा डुवान रोक्न राप्तीसोनारी गाउँपालिका अन्तरगत पर्ने राप्ती नदी छेउछाउमा ६६ हजार विरुवा रोपिएको छ । नदी नियन्त्रणका लागि निर्माण गरिएको पक्की तटबन्धमा उक्त विरुवा रोपिएको ‘क्षमता अभिबृद्धि तथा आर्थिक विकास मार्फत उत्थानशील समुदाय निर्माण परियोजना’ का संयोजक रामनिवास यादवले बताए ।
पक्की तट्बन्धमा प्रयोग भएका जाली लामो समयसम्म टिकाउ नहुने भएकोले तट्बन्धको सुरक्षाका लागि १० मिटर तलसम्म जरा फैलिने ‘भेटिभर’ जातको विरुवा रोपिएको उनले बताए । दुई बर्षपछि उक्त विरुवाले तटबन्धको सुरक्षा गर्न सुरु गर्छ । जाली जस्तै जरा फैलिने भएकोले नदी कटान हुनबाट जोगाउँछ,’ उनले भने, ‘खिया लागेर जालीले काम नगरेपछि यहि विरुवाले ढुंगा खस्नबाट जोगाउने छ ।’
तट्बन्ध सुरक्षाका लागि भेटिभर जातको विरुवाको वीच–वीचमा बाँस, काँस र नेपियर जातको घाँस पनि रोपिएको वी–ग्रुपका सचिव टेकबहादुर पुनले बताए । उनले नदी नियन्त्रणका लागि बाँके जिल्लामा पहिलो पटक भेटिभर जातको विरुवा रोपिएको बताउँदै यसले वातावरण संरक्षणमा समेत टेवा पुग्ने बताए । ‘विरुवाले पर्यावरण संरक्षणमा मद्दत गर्ने नै भयो बाँस र घाँस विक्रि गरेर स्थानीयले लाभ लिन सक्ने छन् । बाख्रा र गाई, भैँसीका लागि जंगल जाने झन्झटबाट किसानले मुक्ति पाउने छन्,’ उनले भने ।
दीर्घकालिन सोँचका साथ विरुवा र घाँस रोपिएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । उनले कटान तथा डुवानबाट जोगाउन भेटिभर जातको विरुवाले प्रभावकारी हुने बताउँदै तटबन्ध सुरक्षाका लागि विरुवा रोप्न प्रोत्साहन गरिएको बताए । ‘जरा भित्र र टाढासम्म जाने भएकोले बर्षेनी हुने कटान तथा डुवान समस्या केहि हदसम्म समाधान हुन्छ भन्ने विश्वास छ,’ उनले भने ।
विरुवा लगाउन राप्तीसोनारी गाउँपालिकाले ४६ लाख र एडिए, एडब्लुओको सहयोगमा भेरी बातावरणीय विशिष्ठता समुह (वी–ग्रुप) ले सात लाख ३५ हजार रुपैँया खर्च गरेका छन् । विरुवा लगाउन स्थानीयले श्रमदान गरेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का अध्यक्ष जनकबहादुर थारुले बताए ।
उनले आफ्नो जमिनको सुरक्षा हुने र नेपियर जातको घाँस पशुचौपायाका लागि उपयोगी हुने भएपछि स्थानीयले स्वस्फूर्त श्रमदान गरेको बताए ।