बाँके, ०६ असोज, २०७८ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो लेवल मिलाउन एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली काँग्रेससँग गएको बताएका छन् । उनले पानीले आफ्नो लेवल आफै मिलाए जस्तै माधव नेपालले पनि आफ्नो लेवल मिलाउन काँग्रेसको शरणमा गएको बताए ।
एमाले बाँकेले बुधवार नेपालगन्जमा आयोजना गरेको बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कागले आफ्नो समुह खोजे जस्तै माधव नेपालले पनि आफ्नो लेवल मिलाउन नेपाली काँग्रेसलाई रोजेको बताए । ‘हाम्रो गाउँमा एक जना काका थिए । उनी हामीसँग हिड्थे । कार्यक्रममा पनि हामीसँगै हुन्थे, तर उनले प्रजातन्त्र आएपछि एकाएक आफ्नो घरमा चार तारे झण्डा गाडे । अनि मैले सोधेँ काका के गर्नु भएको हो ? उनले जवाफ दिए मैले आफ्नो लेवल मिलाएको हुँ अरु केहि गरेको होइन भन्ने जवाफ दिए । माधव र प्रचण्डजीले पनि आफ्नो लेवल मिलाउनु भएको हो,’ ओलीले भने ।
उनले जालसाजी र किर्तेबाट बनेको बर्तमान सरकारको आयू लामो नभएको जिकिर गरे । जनादेशबाट नभई परमादेशबाट बनेको सरकार गुड्न नपाउँदै भत्किने उनको भनाई छ । ‘पाँचमुखे भगवानको जस्तै पाँच राजनीतिक दलबाट निर्माण भएको गठबन्धन पनि पाँचतिर फर्किएको छ । यो गठबन्धनलाई एमालेले ढाल्नु पर्दैन समय नपुग्दै गल्र्यामगुर्लुम ढल्नेछ,’ उनले भने ।
एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल फर्किन नसक्ने साँघुरो बाटोमा हिडेको बताउँदै उनको समाप्त हुने दिन आएको जिकिर गरे । ‘रसुवाको एउटा जंगलमा साँघुरो बाटो छ । गाई चर्दै–चर्दै त्यो बाटोमा जान्छ भनि फर्किन नसकेर त्यहिँ लडेर मर्छ । माधव नेपालले पनि फर्किन नसक्ने यस्तै साँघुरोबाट हिडिरहेका छन् । उनको पनि गाईको जस्तो हालत हुनेछ,’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने ।
उनले केहि राजनीतिक दलहरु एमालेलाई प्रतिपक्षमा पुर्याएको ठानेर रमाईरहेको उनले बताए । उनले ति दलको खुसीलाई दशैँमा बालबालिकाले नयाँ लुगा लगाउन पाउने आशामा रमाए सरह भएको बताए ।
ओलीले एकीकृत समाजबादीका अध्यक्ष माधव नेपाललाई नदीले किनारा लगाएको फोहरको संज्ञा दिए । ‘नदीको छालले फोहरलाई किनाराको बालुवामा पुर्याए जस्तै कार्यकर्ताले साथ छोडेर माधव नेपाललाई किनारा लगाएका छन्,’ उनले भने, ‘नेपाल र पुष्पकमल दाहालको दम्भ आगामी चुनावसम्म मात्र हो । त्यसपछि उहाँहरुले आफ्नो औकातमा आउनु हुन्छ ।’
उनले पार्टीको आन्तरिक खिचातानीका कारण बर्तमान सरकार विस्तार हुन नसकेको बताउँदै उनले मन्त्री मण्डल विस्तार भए पार्टी फुट्ने, नेता–कार्यकर्ता रिसाउने डर नेतृत्वमा भएको बताए । ‘पार्टी फुट्ने डरले उपेन्द्रजीले दल सम्बन्धि विध्ययक खारेज नहुँदासम्म मन्त्रीको नाम पठाउँदैन भन्नुहुन्छ । माधवलाई नेता, कार्यकर्ता रिसाउने डर छ । शेरबहादुर जीलाई सभापतिको चिन्ता छ । प्रचण्ड जीले त म अव मन्त्री बनाउन सक्ने हैसियतमा छैन भनेर हात उठाई सक्नु भयो,’ अध्यक्ष ओलीले भने, ‘पूर्ण नभएको सरकारलाई एमालेले ढाल्ने कुरै भएन ।’