थारु समुदायको मौलिक पोशाक : चाडपर्व, महोत्सव र प्रदर्शनीमा मात्र सिमित (फोटो फिचर)

विश्वराज पछल्डङ्ग्या
बाँके, ५ असोज, २०७८ ।

थारु समुदायको मौलिक पोशाक चाडपर्व, सांस्कृतिक महोत्सव, उत्सव र समारोहमा मात्र सिमित भएको छ । आधुनिकतासँगै नयाँ–नयाँ डिजाइनका पहिरन भित्रिन थालेपछि यसको प्रत्यक्ष असर थारु समुदायको पौराणिक पहिरनमा पनि परेको छ । शिक्षा आर्जनका लागि विद्यालय र कलेज जानु पर्ने भएकोले पछिल्लो पुस्ताले आफ्नो पहिरन विर्सिदै गएको छ ।
अध्ययनका क्रममा विद्यालय र कलेजले तोकेको पोशाक लगाउनु पर्ने र थारु समुदायको पौराणिक पोशाक लगाउँदा हेयको दृष्टिले हेर्ने गरेका कारण थारु समुदायका बालबालिका, किशोरकिशोरी र यूवायूवतीको रुची प्रचलित पोशाकमा बढेको थारु संस्कृतिका जानकार एकराज चौधरी बताउँछन् । त्यसो त अर्धबैँसे पनि पनि थारु पोशाक लगाउन छोडेका छन् । ‘अहिले ९० सय प्रतिशत अर्धबैँसे र बृद्धबृद्धाले मात्र थारु पोशाक लगाउँछन् । बालबालिका, किशोरकिशोरी र यूवायूवतीले त लगाउनै छाडे । थारु पहिरन चाडपर्व, मेला, महोत्सव, उत्सव, स्वागत कार्यक्रम र समारोहमात्र सिमित भएको छ,’ उनी भन्छन्, ‘थारु समुदायको पौराणिक पोशाक फोटो खिचाउन र रहरमा सिमित हुन पुगेको छ ।’


पछिल्लो समय चाडपर्वका बेला थारु पोशाक लगाउने प्रचलन बढेको थारु कल्याणकारिणी सभा, दाङका सभापति भुवन चौधरी बताउँछन् । उनले चाडपर्व, महोत्सव, स्वागत कार्यक्रम, प्रदर्शनीमा लगाउनका लागि थारु महिला, किशोरी र यूवतीले थारु पोशाक सिलाउने गरेको बताए । थारु गहना लगाउने प्रचलन बढेपछि यूवती, किशारी र महिलाले थारु पौराणिक गहना किन्न थालेको उनको भनाई छ । ‘चाडपर्वमा मात्र लगाउने भएकोले थारु समुदायको पौराणिक पोशाक र गरगहना बर्षमा दुई–तीन पटकमात्र देख्न र हेर्न पाइन्छ,’ उनी भन्छन्, ‘थारु पोशाक र गहना लगाएका महिला हेर्नका लागि चाडपर्व, मेला, महोत्सव, स्वागत कार्यक्रम र समारोह पर्खिनु पर्ने भएको छ ।’


थारु पोशाक मन परे पनि सामाजिक परिवेशका कारण लगाउन असहज लाग्ने गरेको घोराही उपमहानगरपालिका १६ की सुलोचना चौधरीले बताइन् । उनले थारु पोशाक लगाउँदा काम गर्न सहज हुने र गैर थारुले हेर्ने दृष्टिकोण फरक पर्ने भएकोले चाहेर पनि लगाउन नसकेको बताइन् । ‘धेरैजसोले आधुनिक पोशाक लगाउँछन् । एक्लै लगाउँदा हेयको दृष्टिले हेर्छन् की भन्ने लाग्छ । बकुल्लाको समुहमा एक्लो काग जस्तो हुने डरले चाहँदा चाहँदै पनि थारु पोशाक लगाउन सकिन्न,’ उनले भनिन् ।
उनले अव थारु पोशाक र गहना बाकस र दराजमा थन्किएको बताइन् । ‘अघिपछि लगाउन लाज माने पनि चाडपर्व, महोत्सव, समारोह र प्रदर्शनीमा थारु पोशाक लगाएका महिला, युवती र किशोरी देख्न पाइन्छ,’ उनी भन्छिन्, ‘हाम्रो पुराना पोशाक जोगाउन चाडपर्व, मेला, महोत्सव, समारोह प्रदर्शनीले सहयोग पुर्याएका छन् ।’


उनले दाङका थारु महिलाको मौलिक पोशाक सेतो रङको गुन्यो, चोल्या, अङ्ग्या डैनाहा झुल्वा हो । भने, हातमा लाखको चुरा, पाखुरामा टँर्या, घाँटीमा सुट्या, चाँदीको रुपैँयाको माला, कानमा झिमल्या, नाकमा नठ्या र खुट्टामा कारा लगाउँछन् । तर, उनी अचेल घर बाहिर जाँदा सुरुवा, कुर्ता लगाउँछिन् । घर बस्दा कहिले काँही म्याक्सी प्रयोग गर्छिन् । यी पोशाक र गहना अहिले पाइदैन । पाए पनि लगाउँदा असहज लाग्छ । सांस्कृतिक कार्यक्रम, समारोह, महोत्सव र प्रदर्शनीमा मात्र लगाउन मजा लाग्छ,’ उनले भनिन् ।


त्यसैगरि, भेग्वा, चौबन्दी झुल्वा र सेतो रङको टोपी पुरुषको पहिरन हो । यो पोशाक एक प्रतिशत थारुले मात्र लगाउने गरेको साहित्यकार सुशील चौधरी बताउँछन् । उनले थारु पोशाक हेर्न थारु चलचित्र, नाटक र म्युजिक भिडियोको सहारा लिनुपर्ने बेला भएको बताए । ‘पछिल्लो समय गैर थारु चलचित्र र गैर थारु गीतका म्युजिक भिडियोले समेत थारु पोशाकलाई स्थान दिएको पाइन्छ,’ उनले भने ।
थारु पोशाक प्रयोग भएका भिडियो, नाटक र म्युजिक भिडियोले दर्शक पाउने गरेको उनको भनाई छ । ‘हराउँदै गएको पोशाक र संस्कृति देख्दा आनन्द लाग्छ । त्यसैले यस्ता म्युजिक भिडियो र चलचित्रले राम्रो दर्शक पाउँछन्,’ उनले भने ।

Previous articleसिकलसेललाई जनस्वास्थ्य समस्याको रुपमा प्रमाणित गर्ने प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. पाण्डे सुप्रवल जनसेवा श्री बाट विभूषित
Next articleएमाले अध्यक्ष ओली आज नेपालगन्ज आउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here