बाँके, ०३ असोज ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेलाई सरकारले सुप्रवल जनसेवा श्री पदकबाट विभूषित गर्ने निर्णय गरेको छ । संविधान दिवसको अवसर पारेर सरकारले चिकित्सक, स्वास्थ्यकर्मी सहित नौँ सय भन्दा बढीलाई विभिन्न मानपदवी, अलंकार र बिभूषणबाट सम्मान गर्ने निर्णय गरेको छ । भेरी अस्पतालमा कार्यरत डा. पाण्डेले पश्चिम नेपालका थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनिमिया लगायत कोभिड–१९ का बेला महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सुप्रवल जनसेवा श्री पदकबाट विभुषित गर्ने निर्णय गरेको हो ।
यसअघि विक्रम सम्वत् २०७३ सालमा डा. पाण्डेले प्रवल जनसेवा श्री पदकबाट विभुषित भएका थिए । यस क्षेत्रको स्वास्थ्य सुधारमा डा. पाण्डेले पुर्याएको महत्वपूर्ण योगदानको कदर सरकारले गरेको छ । ‘मैले चिकित्सा पेशालाई सेवाको रुपमा लिएर यस क्षेत्रमा काम गरेँ, अहिले त्यसको कदर भएको छ,’ उनले भने ।
भेरी अस्पतालको प्रयोगशाला प्रमुख प्रसन्न मिश्रलाई पनि सरकारले जनसेवा श्री पदक प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरि, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहलाई प्रवल जनसेवा श्री पदक दिने निर्णय भएको छ । राष्ट्रपति विद्यादेबी भण्डारीले शितल निवासमा आयोजित विषेश समारोहमा विभूषण प्रदान गर्ने कार्यक्रम छ ।