बाँके, २६ भाद्र, २०७८ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको सर्वनाशको दिन नजिकिएको दावी गरेका छन् । यूवा संघ नेपालले नेपालगन्जमा आयोजना गरेको प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्दै उनले प्रदेश १ र बागमति प्रदेशमा बाम–लोकतान्त्रिक गठबन्धनको सरकार चाँडै गठन हुने ठोकुवा गरे ।
सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजबादी पार्टी सवैभन्दा ठूलो भएको बताउँदै उनले प्रदेश २ मा पनि एमालेभन्दा समावादीको आकार ठूलो भएको बताए । ‘बाम–लोकतान्त्रिक गठबन्धन मिलेर सरकार बनाउँछौँ । यहि गठबन्धन मिलेर आगामी चुनावमा पनि जान्छौँ । अव केपी ओलीको दिन दशा सुरु भइसक्यो । उनी र उनको पार्टीको सर्वनाशको दिन नजिएको छ,’ नेपालले भने ।
अध्यक्ष नेपालले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर केपी ओलीले दुई पटक संसद विघटन गरेको उल्लेख गरे । उनले १० बुँदे सम्झौतालाई नाटकको संज्ञा दिए । उनले भने, ‘१० बुँदे इमान्दारिताका साथ आएको सहमति होइन । यो त केवल नाटक थियो ।’
एमालेले कम्यूनिष्ट सिद्धान्त विर्सिसकेको आरोप लगाउँदै अध्यक्ष नेपालले गुटको राजनीति गर्ने थलोको संज्ञा दिए । एमाले केपी ओलीको प्राइभेट लिमिटेड जस्तो ब्यक्तिगत कम्पनी भइसक्यो । माक्र्सवादको सिद्धान्त त्यागेको बुर्जुवाको अधिनायकबाद हावी भएको पार्टी हो,’ उनले आरोप लगाए ।
यथास्थितिमा एमसीसी स्विकार गर्न सकिदैनः नेपाल
अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी स्विकार गर्न नसकिने स्पष्ट पारेका छन् । उनले देश र जनताको हितमा हुने सुनिश्चित भए मात्र एमसीसी स्विकार गर्न सकिने स्पष्ट पारे । ‘शैन्य गतिविधि र सुरक्षासँग जोडिएका कुनै कार्यक्रम एमसीसी छैन भन्ने स्पष्ट पारेपछि मात्र स्विकार गर्न सकिन्छ भनेर हामीले नेपाल भ्रमणमा रहेका उपाध्यक्षसँग स्पष्ट रुपमा कुरा राखेका छौँ,’ उनले भने, ‘एमसीसीले लगानी गर्ने रकमको लेखा परिक्षण नेपालको महालेखा परिक्षकले गर्न पाउनु पर्छ पनि हामीले भनेका छौँ ।’
उनले कुनै दलले जस्तै एकीकृत समाजवादी विदेशी सामु लम्पसार नपर्ने जिकिर गरे । ‘हामी पूर्वाग्रही हुँदैनौँ । विदेशी सामु लम्पसार पनि पर्दैनौँ, तर देश र जनताको हितमा हुने भयो भने हामीले एमसीसी पास गर्न सघाउँछौँ,’ उनले भने ।
उनले एमसीसीले प्रयोग गरेका सम्पूर्ण सम्पत्ती नेपालको हुनुपर्ने औँल्याउँदै शैन्य गतिविधि जोडिएको छैन भनेर स्पष्ट पार्न सुझाव दिएको बताउँदै नेपाली भूमिमा भएका योजनामा नेपालीले काम गर्ने अवसर पाउनुपर्ने आफ्नो पार्टीको नीति भएको बताए ।