जानकीका अध्यक्ष यादवको १३ औं दिनको पूण्यतिथिमा श्रद्धाञ्जली सभा

बाँके, २४ भाद्र, २०७८ ।


बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको १३ औं दिनको पूण्यतिथिमा विहीवार गाउँपालिकामा श्रद्धाञ्जली सभा गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको श्रद्धाञ्जली सभामा बोल्दै गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले अध्यक्ष यादवको निधनले गाउँपालिकाले अभिभावक गुमाउनु परेको बताइन् । गाउँपालिकाका संस्थापक अध्यक्षको रुपमा यादवले स्राहनिय कार्य गरेको स्मरण गर्दै उपाध्यक्ष धितालले जनप्रिय नेता यादवको योजना र सपनालाई पूरा गर्न आगामी दिनमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी एकजुट भएर लाग्नु पर्नेमा जोड दिइन् ।
प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले गाउँपालिका अध्यक्ष यादवले आफ्नो कार्यकालमा जनमुखी कामहरु गरेको बताए । ‘जनताका पक्षमा काम गर्न कर्मचारीलाई सदैव मार्गनिर्देश गर्ने अभिभावक गुमाउनु पर्दा गाउँपालिका शोकमग्न भएको छ,’ उनले भने ।
गाउँपालिकाका राजनीतिक सल्लाहकार एवम् नेकपा एमालेका नेता पदम धितालले गाउँपालिका अध्यक्ष यादवको निधनले जानकी गाउँपालिकाले कर्मशिल, जनप्रिय नेता गुमाउनुका साथै पार्टीले असल र जिम्मेवार नेता गुमाएको बताए । अध्यक्ष यादवले विगतमा अघि सारेका योजना तथा कार्यक्रमलाई सफल पार्न जनप्रतिनिधि र कर्मचारी अघि बढ्न सकेमात्र यादवप्रतिको सच्चा श्रद्धाञ्जली हुने उनको भनाई थियो ।
अध्यक्ष यादवको ६२ वर्षको उमेरमा गत १२ भाद्र बिहान शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा निधन भएको थियो । यादवका आमा, श्रीमति, दुई छोरा र दुई छोरी छन् ।
यादव वि.सं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट जानकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

Previous articleराप्तीसोनारीका विद्यालय २७ भाद्रबाट खुल्ने
Next articleएमसिसी विरुद्ध नेपालगन्जमा भएको प्रदर्शनमा प्रहरीलाई झुक्याएर प्रधानमन्त्री देउवाको पुत्ला दहन (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here