कोहलपुर नगरपालिकामा बाँकेकै पहिलो आधारभूत अस्पताल संचालन (फोटो सहित)

बाँके, २३ भाद्र, २०७८ ।


कोहलपुर नगरपालिकाले जिल्लाकै पहिलो आधारभूत अस्पताल संचालनमा ल्याएको छ । आधारभूत अस्पतालका लागि भवन निर्माणको काम जारी रहेकै बेला कोहलपुरले वडा नंं. स्थित सुविधा सम्पन्न भवनमा आधारभूत अस्पताल संचालनमा ल्याएको हो ।
कोभिड–१९ महामारीको तेस्रो भेरियन्टलाई मध्यनजर गरि १५ शैयाको आधारभूत अस्पताल संचालनमा ल्याएको नगर प्रमुख लुटबहादुर रावतले बताए । आधारभूत अस्पतालको उद्घाटन गर्दै नगर प्रमुख रावतले कोभिडका विरामीलाई लक्षित गरि अस्पताल संचालनमा ल्याउन हतार गरेको बताए । कोहलपुर नगरपालिका कोभिड–१९ को रेड जोनमा पर्दछ । त्यहाँ झण्डै सय जना कोरोना संक्रमित छन् । ‘कोभिडका विरामी नआउँदासम्म ओपिडी सेवा संचालन हुनेछ । जटिल खालका विरामी आए भर्ना गरेर उपचार गर्छौँ,’ उनले भने ।
अस्पताल नहुँदा पहिलो र दोस्रो लहरका बेला कोहलपुरका संक्रमितले उपचार नपाएको बताउँदै उनले अवदेखि कोहलपुरका संक्रमितको उपचार आधारभूत अस्पतालमा हुने स्पष्ट पारे । कोहलपुरबाट विरामी पठाउँदा भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भर्ना लिन इन्कार गरि हाम्रा विरामीलाई गेटबाट फिर्ता पठाएको तितो अनुभव हामीसँग अहिले पनि ताजै छ,’ नगर प्रमुख रावतले भने ।


उनले आधारभूत अस्पतालमा आउने विरामीलाई राम्रो ब्यवहार गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिए । विरामीले चिकित्सक र स्वास्थ्यकर्मीबाट राम्रो ब्यवहार र बोली बचन पाए आधा रोग निको हुने उनको भनाई छ । ‘एक त रोग लागेर विरामी छटपटाईरहेको हुन्छ त्यसैमा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीले नराम्रो ब्यवहार गर्दा हतोत्साहित हुन्छ । चिकित्सकले पीडामाथि पीडा थप्ने होइन हौसला बढाएर रोगसँग लड्ने शक्ति बढाउनु पर्छ,’ उनले भने ।
कोहलपुर नगरपालिका–२ मा संचालन भएको उक्त आधारभूत अस्पतालले २४ सै घण्टा सेवा दिने भएको छ । ओपिडी मार्फत विरामी जाँच, औषधि उपचार र विरामी भर्ना सेवा संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्रबहादुर केसीले बताए । उनले अक्सिजन सहितको सेवा सुरु गरिएको बताए । नेपाल सरकारको ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’ नीति अनुसार नगरपालिकाले १५ शैयाको आधारभूत अस्पताल संचालनमा ल्याएको छ,’ उनले भने ।
उनले अस्पताललाई चाहिने दक्ष जनशक्ति तथा उपकरण राखिएको बताउँदै अस्पतालले विरामीलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने बताए । ‘अक्सिजन चाहिने विरामीका लागि एक बेड एक अक्सिजनको ब्यवस्था गरेका छौँ,’ केसीले भने ।


उनले २४ भाद्रदेखि अस्पतालले नियमित सेवा दिने बताए । उक्त अस्पताल संचालनका लागि मेडिकल अधिकृत, स्टाफ नर्स र पारामेडिक दुई–दुई जना तथा एक जना ल्याव टेक्निसियन र ल्याव असिस्टेन्टको ब्यवस्था गरिएको छ । आवश्यकता अनुसार रेडियो ग्राफर र अन्य स्वास्थ्यकर्मी थप्दै जाने बताए । ‘आधारभूत अस्पतालमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको सेवा, सुविधा सरकारले नदिएकोले हामीले नगरपालिकाको बजेटबाट तलव, भत्ता खुवाउँछौँ,’ उनले भने ।
उनले आधारभूत अस्पतालका लागि भवन निर्माणको काम अगाडी बढिसकेको जानकारी दिए । वडा नंं. २ का वडा अध्यक्ष कर्ण सिंह विसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य दिलबहादुर परियार, भीमबहादुर नेपाली लगायतको सहभागिता रहेको थियो ।
उद्घाटनपछि नगर प्रमुख रावत, प्रमुख प्रशासकिय अधिकृत केसी, कार्यपालिका सदस्यद्वय परियार र नेपाली तथा वडा अध्यक्ष विसी लगायतको स्वास्थ्य जाँच गरिएको थियो ।

Previous articleबाँकेका एक वडा अध्यक्षसहित ११ जनाले मात्र रोजे एकिकृत समाजबादी, नाम सार्वजनिक गर्न निर्वाचन कार्यालयद्वारा इन्कार
Next articleराप्तीसोनारीका विद्यालय २७ भाद्रबाट खुल्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here