बाँकेका एक वडा अध्यक्षसहित ११ जनाले मात्र रोजे एकिकृत समाजबादी, नाम सार्वजनिक गर्न निर्वाचन कार्यालयद्वारा इन्कार

बाँके, २२ भाद्र, २०७८ ।


जिल्ला निर्वाचन कार्यालय, बाँकेले एकिकृत समाजवादीमा सनाखत गर्नेहरुको नाम सार्वजनिक गर्न आनाकानी गरेको छ । केन्द्रको निर्देशन भन्दै निर्वाचन कार्यालयले एकिकृत समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधिको नाम सार्वजनिक गर्न आनाकानी गरेको छ ।
बाँकेमा एमालेबाट निर्वाचित १२ जना जनप्रतिनिधिले एकिकृत समाजबादीमा सनाखत गरे पनि एक जनाले फिर्ताका लागि निर्वाचन कार्यालयमा निवेदन दिएको निर्वाचन अधिकृत खुमप्रसाद सुवेदीले जानकारी दिए । उनले सनाखत गर्नेको नाम सार्वजनिक गर्न नमिल्ने बताए । ‘सनाखत गर्नेको नाम गोप्य राख्न हामीलाई केन्द्रको निर्देशन छ । तपाईले पार्टीका नेतालाई सोधेर सनाखत गर्नेको नाम खोज्नुस्,’ उनले गोचाली खवरसँगको कुराकानीमा भने, ‘मलाई अधिकार नभएकोले नाम सार्वजनिक गर्न मिल्दैन ।’
बाँकेमा एक जना वडा अध्यक्ष बाहेक अन्य वडा सदस्य र मनोनित सदस्यले मात्र एकिकृत समाजवादीमा सनाखत गरेको अध्यक्ष अशोक कोइरालाले जानकारी दिए । उनका अनुसार, बैजनाथ गाउँपालिका–६ का वडा अध्यक्ष कालीवहादुर सिंहले एकिकृत समाजबादी रोजेका छन् ।
त्यसैगरि, खजुरा गाउँपालिका १ का वडा सदस्य देवप्रसाद बुढा, सोही वडाका सदस्य रामवहादुर शाही, जानकी गाउँपालिका १ का कार्यपालिका सदस्य राजकुमार धोवी, कोहलपुर नगरपालिका ६ का वडा सदस्य फागु थारु, कोहलपुर नगरपालिका ११ की वडा सदस्य हरिकला सुनार, नेपालगन्ज उपमहानगरपालिका १ का वडा सदस्य डम्बर थापा, कोहलपुर नगरपालिका ५ का वडा सदस्य शंकर खड्का, जानकी गाउँपालिका २ का वडा सदस्य टिकाराम सुनार, खजुरा गाउँपालिका ६ का वडा सदस्य हजुरा बम र
कोहलपुर नगरपालिका १२ का कार्यपालिका सदस्य नारायणी ओलीले एकिकृत समाजबादीमा सनाखत गरेका छन् ।
अध्यक्ष कोइरालाले सनाखत फिर्ता लिनेको नाम आफूले नसोधेको बताए । ‘खजुराका एक जना वडा सदस्यले सनाखत गरे पनि चर्को दबाव पछि फिर्ताका लागि निवेदन दिएको भन्ने सुनेको छु, तर नाम मलाई जानकारी भएन,’ कोइरालाले भने ।
निर्वाचन कार्यालयले लोकतान्त्रिक जनता समाजबादी पार्टीमा कसैले पनि सनाखत नगरेको जनाएको छ ।

Previous articleसिआइवीको इन्स्पेक्टर हुँ भन्दै धम्क्याउने युवक कोहलपुरबाट पक्राउ
Next articleकोहलपुर नगरपालिकामा बाँकेकै पहिलो आधारभूत अस्पताल संचालन (फोटो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here