बाँके, २० भाद्र, २०७८ ।
सर्वोच्च अदालतले अंग प्रत्यारोपण गर्न सकिने ‘नजिकका नातेदार’ को परिभाषालाई फराकिलो बनाएपछि मिर्गाैलालगायत अंग प्रत्यारोपण सहज हुने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको इजलासले मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा २ (ठ) लाई व्याख्या गरेको हो ।
अव कसले–कसले गर्न पाउँछ अंगदान ?
उक्त ऐनको दफा २ (ठ) ले अंगदान गर्न पाउने नजिकका नातेदारको परिभाषा गरेको छ । जसमा अंगदान गर्ने व्यक्ति अंग ग्रहण गर्नेको ‘पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबाबु, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठान सम्झनुपर्ने’ उल्लेख छ । यसमा धर्मसन्तान र विवाहपछि गाँसिएका सम्बन्धको हकमा कम्तीमा दुई वर्षदेखि नाता सम्बन्ध कायम रहेको हुनुपर्ने बताइएको छ ।
यसलाई अझ फराकिलो बनाउँदै संयुक्त इजलासले काका–ससुरा पनि नजिकको नातेदारभित्र समेटिने आदेश गरेको छ । झापा भद्रपुरकी मिर्गौलापीडित गीताकुमारी भण्डारीले दायर गरेको रिटउपर दिइएको संक्षिप्त आदेशमा ‘नजिकका नातेदार’लाई फराकिलो तवरबाट व्याख्या गर्नुपर्ने जनाइएको छ । निवेदक गीताका काका–ससुराले उनलाई मिर्गौला दान गर्न खोज्दा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उनी नजिकका नातेदार नभएको भन्दै प्रत्यारोपण गर्न अस्वीकार गरेको थियो ।