बाँके, ३१ साउन, २०७८ ।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले हिंसा पीडित महिलाको संरक्षणका लागि निर्माण गरिएको ‘छहारी घर’ को आइतवार निरीक्षण गरेका छन् । नेपालगन्ज आएका बेला लुम्बिनी प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका पोख्रेलले द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेले निर्माण गरेको छहारी घरको निरीक्षण गरेको अध्यक्ष जयन्ती खत्रीले बताइन् ।
निरीक्षणका क्रममा पोख्रेलले हिंसा पीडित महिलाका लागि नव निर्मित भवनले राहत प्रदान गर्ने बताउँदै माथिल्लो तला निर्माणका लागि आफ्नो पार्टी एमाले र प्रदेश सरकारलाई घच्घच्याउने प्रतिवद्धता जनाए । उनले भने, ‘हिंसा वा समस्यामा परेका महिलाको अधिकारका लागि बोलिदिने कोहि हुँदैनन् । उनीहरु आश्रय स्थल नपाएर भौतारिनु पर्ने अवस्था पनि आउन सक्छ । समस्यामा परेका महिलालाई यो भवनले आश्रय दिएर राहत दिन सकोस ।’
सो अवसरमा एमाले स्थायी कमिटी सदस्य समेत रहेका पोख्रेलले प्रदेश सरकारले दिएको बजेट सहि सदुपयोग भएको भन्दै भवन निर्माण गर्ने द्वन्द्व पीडित तथा एकल महिला संजालको काम प्रति खुसी ब्यक्त गरे । ‘एकल महिलाले गरेको काम प्रति म पूर्ण रुपमा सन्तुष्ट छु । आगामी दिनमा पनि यस्तै काममा अग्रसर हुन अनुरोध छ,’ उनले भने ।
उक्त भवन निर्माण गर्न नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज उपमहानगरका विभिन्न वडाले आर्थिक सहयोग गरेका छन् भने प्रदेश सरकारको आर्थिक सहयोगमा फिनिसिङको काम सम्पन्न भएको खत्रीले बताइन् । नेपालगन्ज उपमहमानगरपालिका ९, बाँकेगाउँस्थित छहारी घरको भूइँ तला निर्माण सकिएको छ । ‘पहिलो चरणमा भान्सा, सुरक्षाकर्मी बस्ने घर, एक सभा हल, दुई कार्यालय कोठा र समस्यामा परेका महिला बस्ने दुई कोठा निर्माण भएको छ,’ अध्यक्ष खत्रीले भनिन् ।
संविधान सभा सदस्य देवराज भार, एमाले स्वास्थ्य विभाग प्रमुख एवम् संघीय सांसद सुजिता शाक्य, लुम्बिनी प्रदेशका निवर्तमान उद्योग मन्त्री आरती पौडेल, भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष शान्ति ढकाल, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति लगायतले छहारी घरको अवलोकन गरेका थिए ।
निरीक्षण पछि अध्यक्ष कक्षपतिले भवन निर्माणका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।