नाथम कलेजलाई जमिन दिन स्थानीय सहमत, पुसदेखि कक्षा संचालन गर्ने तयारी

बाँके, २५ साउन, २०७८ ।


पश्चिम नेपाललाई लक्षित गरि नेपालगन्जमा स्थापना हुन लागेको पर्यटन र होटल व्यवस्थापन सम्बन्धि पढाई हुने सरकारी प्रतिष्ठान नेपाल एकाडेमी अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (नाथम) को भवन निर्माणका लागि स्थानीयबासी जमिन दिन सहमत भएका छन् । उपमहानगरपालिकाले गत चैत २५, २०७७ मा नेपालगन्ज उपमहानगरपालिका–१९, सोल्टी होटल पछाडीको एक विघा जमिन दिने निर्णय गरेको थियो । उक्त जमिनमा हिन्दु र इस्लाम धर्मावलम्बीले मन्दीर र मस्जिद निर्माणका लागि दावी गरेपछि निर्माण कार्य अगाडी बढ्न सकेको थिएन ।
राजनीतिक दलका प्रतिनिधि, बाँकेका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, नाथम कलेजका सदस्य तथा वडा नं. १९ का स्थानीय वीच भएको सर्वक्षिय छलफलमा स्थानीयले नाथम कलेजको भवन निर्माणका लागि जमिन दिन सहमति गरेको नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले बताए । कलेज भवन निर्माण हुने स्थानमा भएको २४ कट्टा जमिन मध्ये चार कट्टा इस्लाम धर्मावलम्बीलाई दिने सहमति भएको पनि उनले बताए ।
हिन्दु धर्मावलम्बीले मन्दीर निर्माणका लागि दावी गरेकोमा उनीहरुलाई सोही वडाका अर्को ठाउँमा ६ कट्ठा जमिन दिने सहमति समेत भएको उनले बताए । ‘यसअघि हिन्दु र इस्लाम धर्मावलम्बीले चार–चार कट्ठा जमिन दावी गरेका थिए । एकै ठाउँमा चार–चार कट्ठा दिन नसकिने भएपछि मन्दीर निर्माणका लागि अर्को ठाउँमा उपलब्ध गराउने सहमति भएको छ,’ उनले भने ।
आफूहरुले संरक्षण गरेका कारण सुकुम्बासी र अन्य ब्यक्तिले अतिक्रमण गर्न नपाएको बताउँदै स्थानीयले मस्जिद र मन्दीर निर्माणका लागि पर्याप्त जमिन दिने प्रतिवद्धता नहुँदासम्म भवन निर्माण गर्न नदिने अडान लिएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको सक्रियतामा स्थानीयबासी नाथमको भवन निर्माण गर्न सहमति दिएपछि निर्माणको काम तत्काल सुरु गरिने नाथमका सदस्य अच्यूत गुरागाईले बताए । उनले जमिनको विवाद समाधान भएको एक हप्ता भित्र निर्माणको काम सुरु हुने बताए । ‘टेन्डर प्रक्रियाबाट हुने काम बाहेक अन्य काम अवको एक हप्ताभित्र सुरु गर्छौँ,’ उनले भने ।
पुसदेखि अध्यापनको काम सुरु गर्ने तयारी
उनले भदौँदेखि ब्याचलर लेभलको होटल म्यानेजमेन्ट र ट्राभल्स एण्ड टुरिजम अध्ययनका लागि भर्ना प्रक्रिया सुरु गर्ने र पुसबाट पढाईको काम अगाडी बढाइने स्पष्ट पारे । ‘कुनै पनि हालतमा हामीलाई आगामी भदौँदेखि भर्ना र पुसदेखि पढाई संचालन गर्नुपर्ने बाध्यता छ । ‘भवन निर्माणको काम नसकिदासम्म नेपालगन्ज उपमहानगरले दिएको भवनबाट पढाई संचालन गर्छौँ,’ उनले भने ।
भवन निर्माणका लागि नाथमले एक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई करोड रुपैँया विनियोजन गरेको गुरागाईले जानकारी दिए । उनले पुस, माघदेखि छोटो अवधिका सेफ, वेटर, टुर गाइड, ट्रेकिङ गाइड, र्याफ्टिङ गाइड, हाउस किपिङ तालिम संचालन पनि हुने स्पष्ट पारे । ‘कजेज परिसरमा पाँच तारे होटलको मापदण्ड अनुसारको भवन निर्माण गरिने छ,’ उनले भने, ‘वेटर, सेफका प्रशिक्षार्थीले कलेज भित्रै प्रयोगात्मक शिक्षा लिने ब्यवस्था सहितको संरचना निर्माण गरिने छ ।’
कलेजको भवन निर्माण गर्न स्थानीय सहमत भएपछि यस क्षेत्रका विद्यार्थीले हस्पिटालिटी र पर्यटन सम्बन्धि शिक्षा लिन पाउने भएका छन् । यसले यस क्षेत्रका सरोकारावाला निकायका अगुवाहरू उत्साहित भएका छन् । नेपालगन्जममा नाथमको भवन निर्माण प्रक्रिया अगाडी बढ्ने भएपछि स्वदेशमै दक्ष जनशक्ति उत्पादनमा प्रतिष्ठान अब्बल सावित हुने नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।
उनले पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी उच्च शिक्षा पढाई हुने त्रिभुवन बिश्व बिद्यालयबाट मान्यता प्राप्त कलेजले आगामी पुषबाट कक्षा संचालन गर्ने भएपछि यसक्षेत्रमा नयाँ सम्भावनाको बाटो खुलेको उनको भनाई छ ।
परिस्थिती अनुकुल भए चाँडै पढाई सुरु गर्ने लक्ष्य लिएको प्रतिष्ठानका नेपालगन्ज प्रमुख बिपिन नेपालले बताए । उनका अनुसार भवन निर्माण नहुँदासम्म नेपालगन्ज उपमहानगरपालिकाले दिएको भवनमा पढाई संचालन गर्ने प्रक्रिया अगाडी बढाइएको बताए । ‘स्थानीयले भवन निर्माणका लागि सहमति जनाएपछि स्नातक र छोटो अवधीका तालिम संचालन गर्ने बाटो खुलेको छ । नेपालगन्जमा नाथम स्थापना हुने नहुने अन्यौल थियो त्यो पनि समाधान भएको छ,’ उनले भने ।
नाथम कलेज सेफ, वेटर, टुर गाइड, ट्रेकिङ र र्याफ्टिङ गाइडको प्रमाण पत्र दिने एकमात्र सरकारी कलेज हो । उक्त कलेजले गुणस्तरिय तथा ब्यवहारिक शिक्षा दिने भएकोले यहाँ अध्ययन गरेका र तालिम लिएकाले सहजै काम पाउने गरेका छन्,’ उनले दावी गरे ।

Previous articleलागुऔषध दुर्ब्यसन विरुद्धका अभियन्ता अभिराजलाई ‘नाइस अवार्ड–२०२१’
Next articleजमिन पाउने अधिकारबाट देउवा सरकारले बञ्चित गराएको खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिको आरोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here