बाँके, २० असार, २०७८ ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री धर्मलाल प्रसाद श्रीवास्तवले विशेष नीति बनाएर मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिको मातहतमा रहेका खेलकुद संरचनाको संरक्षण गरिने बताएका छन् ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव भीम ओलीको स्वागत तथा सम्मानमा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले नेपालगन्जमा आयोजना गरेको ‘खेलकुदको विकासमा प्रदेश खेलकुदको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री श्रीवास्तवले कानुन बनाएर राष्ट्रिय खेलकुद परिषदको मातहतमा रहेका कर्मचारी र संरचनालाई प्रदेश खेलकुद परिषदको मातहतमा ल्याइने स्पष्ट पारे ।
उनले ऐन, कानुन, नियमावली निर्माण गर्न ढिलाई भएका कारण परिषद गठनमा ढिलाई भएको बताउँदै कार्यान्वयनमा ढिलाई नगरेको जिकिर गरे । ‘ऐन, कानुन कार्यान्वयनका लागि हामी जिल्ला भ्रमणमा निस्केका छौँ । राष्ट्रिय खेलकुद परिषद अन्तरगतका कर्मचारीलाई छिट्टै समायोजन गरि प्रदेश खेलकुद परिषदमा ल्याउँछौँ,’ उनले भने ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव महादेव पन्थले पनि प्रदेशको खेलकुदको विकासका लागि आवश्यक ऐन, कानुन निर्माण भई कार्यान्वयनको चरणमा भएको बताए । उनले जिल्ला खेलकुदलाई पनि छिट्टै पूर्णता दिइने जानकारी दिए ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव भीम ओलीले नीतिगत गाँठो नफुकेका कारण मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिलाई प्रदेश खेलुकदमा ल्याउन नसकिएको बताए । उनले केन्द्रमसँग समन्वय गरि चाँडै नै कर्मचारी र संरचना प्रदेशको मातहतमा ल्याइने बताए ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले राष्ट्रिय खेलकुद परिषदबाट कुनै परिपत्र र जानकारी नआएका कारण नवनियुक्त सदस्य सचिवलाई स्वागत कार्यक्रम गर्न समस्या भएको बताए । उनले आफूहरु अहिलेसम्म केन्द्रको कर्मचारी भएको बताउँदै समायोजन गरि काममा सहजता ल्याई दिन आग्रह गरे । ‘प्रदेश खेलकुद परिषदका सदस्य सचिव, मन्त्री र सचिव नेपालगन्ज आउन लागेको राष्ट्रिय खेलकुद परिषदबाट कुनै जानकारी आएन । हामीलाई स्वागत गर्न समेत समस्या पर्यो । अफिसियल भन्दा ब्यक्तिगत चिनजानका आधारमा स्वागत गर्नुपर्ने बाध्यता आइलाग्यो,’ उनले भने ।
पत्रकार टीएस ठकुरीले संचालन गरेको कार्यक्रममा बाँकेका खेलप्रेमी, उद्योगी, ब्यवसायी, राजनीतिक दलका नेता लगायतले लुम्बिनी प्रदेश खेलकुद परिषदको कार्यालय नेपालगन्जमा राख्न सुझाव दिएका थिए ।
परिषदका लागि बाँकेमा पर्याप्त संरचना भएकोले नेपालगन्जमा कार्यालय स्थापना गर्न भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । उनले अन्य जिल्लाको तुलनामा बाँकेमा पर्याप्त संरचना भएको बताउँदै नेपालगन्ज अन्य जिल्लाका लागि पनि पायक पर्ने धारणा राखे ।