बुद्ध एयरको नेपालगन्ज–पोखरा नियमित उडानको विशेष प्याकेजमा के–के छ सुविधा ?

बाँके, १८ साउन, २०७८ ।


बुद्ध एयरले विशेष प्याकेज सहित नेपालगन्ज–पोखरा नियमित उडान १७ साउनबाट सुरु गरेको छ । केहि समय अघि सीता एयरले चार्टड उडान गरे पनि कोभिड–१९ का कारण बन्द गरेको थियो । पर्यटनको क्षेत्रमा काम गर्ने संस्था र यात्रुको मागलाई ध्यानमा राखेर विशेष प्याकेज सहित १७ साउनदेखि नियमित उडान सुरु गरेको बुद्ध एयर नेपालगन्जका स्टेशन प्रमुख विनित विक्रम शाहले बताए ।
नियमित उडान अन्तरगत बुद्ध एयरले आइतवार पोखराबाट पहिलो उडान गरेको उनले बताए । पहिलो उडानमा बुद्ध एयरको ट्वीनटर विमानले ९ पुरुष, ८ महिला र एक नावालक गरि १८ यात्रु बोकेर नेपालगन्ज विमानस्थलमा अवतरण गरेको शाहले बताए । ‘पहिलो चरणमा बुद्ध एयरको १८ सिटे विमान पोखराबाट नेपालगन्ज विमानस्थलमा अवतरण गरेको छ,’ उनले भने, ‘हामी चाँडै ठूलो विमान उडाउने योजनामा छौँ ।’
त्यसैगरि, बुद्ध एयरले ४६२ उडान मार्फत नेपालगन्जबाट ९ महिला, ६ पुरुष र दुई बालबालिका गरि १७ जनालाई पोखरा विमानस्थलमा अवतरण गराएको छ ।


विशेष प्याकेजमा सुविधा के–के छ ?
उनले नेपालगन्जबाट पोखरा जाने यात्रुका लागि विशेष प्याकेजको ब्यवस्था गरिएको बताए । नेपालगन्जबाट पोखरा जान पाँच हजार रुपैँया भाडा तोकिएको छ ।
यहाँबाट जाने यात्रुलाई होटलसम्म पुर्याउने, दुई जनालाई सुविधा सम्पन्न होटलमा दुई रात बासको ब्यवस्था र होटलमा बसेको सयमा ब्रेकफास्टको ब्यवस्था एयरलायन्सले मिलाएको स्टेशन प्रमुख शाहले बताए । ‘होटलको कोठा भाडा, ब्रेकफास्ट र होटलसम्म पुर्याउने यातायात खर्चको हिसाव, किताव गर्ने हो भने हवाई भाडा दुई हजार रुपैँयामात्र पर्न जान्छ,’ शाहले भने ।
त्यसैगरि, पोखराबाट नेपालगन्ज आउने यात्रुलाई १३ हजार ९ सय रुपैँयाको प्याकेज बनाइएको छ । उक्त रुपैँयामा टीकट खरिद गर्ने यात्रुले दुई रात होटलमा बास बस्न पाउने छ । भने, दुई वटा ब्रेकफास्ट पाउने छ । यस प्याकेजमा यात्रुलाई बर्दिया राष्ट्रिय निञ्कुज घुमाउने ब्यवस्था पनि मिलाएको शाहले बताए ।
पहिलो उडानका यात्रुलाई नेपालगन्जमा स्वागत र विदाई
बुद्ध एयरको नियमित उडान मार्फत पोखराबाट नेपालगन्ज आएका यात्रुलाई नाटा, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल ब्यवसायी लगायतले नेपालगन्ज विमानस्थलमा स्वागत गरेका छन् । नेपालगन्ज–पोखरा नियमित सिधा हवाई उडानले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउँदै यहाँका होटल ब्यवसायी र पर्यटन ब्यवसायीले खुसी ब्यक्त गरेका छन् ।
नाटाका केन्द्रिय अध्यक्ष अच्यूत गुरागाईले नेपालगन्ज–पोखरा नियमति उडानले पर्यटन प्रवद्र्धनको क्षेत्रमा कोसेढुंगा सावित हुने बताए । उनले नेपालगन्ज–भैरहवा, नेपालगन्ज–विराटनगर नियमित उडानका लागि पनि नाटाले पहल गर्ने प्रतिवद्धता जनाए ।
पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले लामो प्रयास पछि नेपालगन्ज–पोखरा नियमित उडान गराउन सफल भएको बताउँदै यसले पोखराको मात्र नभई पश्चिम नेपालको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरे ।
पोखराबाट आएका र पोखरा जाने यात्रुलाई स्वागत तथा विदाई गर्दै नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जलाई पर्यटकीय क्षेत्रमा जाने ठाउँको हव बनाउन नाटाले अभियान चलाएको बताए । ‘नेपालगन्ज पर्यटकीय क्षेत्र जानका लागि केन्द्र विन्दु हो, तर राज्यले चासो नदिँदा नेपालगन्ज पछाडी पर्दै गएको छ,’ उनले भने, ‘अव नेपालगन्ज–भैरहवा–विराटनगर नियमित उडानका लागि हाम्रो प्रयास रहने छ ।’


नेपालगन्ज–पोखरा उडान हप्तामा कति दिन हुन्छ ?
बुद्ध एयरले सातामा तीन दिन आइतबार, बुधबार र शुक्रबार नियमित उडान भर्ने स्टेशन प्रमुख शाहले जानकारी दिए । उनले पर्यटकको रोजाई र यात्रुको चापलाई मध्यनजर गरि नेपालगन्ज–पोखरा नियमित उडान गरेको स्पष्ट पारे । ‘अहिलेलाई हामीले १८ सिटे विमानबाट नियमित उडान सुरु गरेका छौँ । यात्रुको चापलाई मध्यनजर गरि ठूलो विमान उडाउने सोँचमा छौँ,’ उनले भने ।
पर्यटन प्रवद्धन केन्द्रका अध्यक्ष श्रेष्ठले सीता एयरको चार्टर्ड उडानबाट सुरु गरिएको नेपालगन्ज–पोखरा नियमित उडानले यहाँको पर्यटन प्रवद्र्धनमा नयाँ आयम थप भएको बताए । उनले आन्तरिक पर्यटक, भारतीय पर्यटकलाई लक्षित गरेर उडान सुरु गर्दा यसले पश्चिम नेपालको पर्यटनमा ठूलो टेवा पुग्ने बताए । उदै बुद्ध एयरले यससँगै पोखरा–वीरगञ्ज, विराटनगर–नेपालगञ्ज लगायत नयाँ रुटमा पनि सिधा उडान गर्न आवश्यक रहेको बताए ।

Previous articleसाइक्लिङलाई ‘आदत’ बनाएका तेजविक्रम शाहको महाकाली–मेची शान्ति यात्रा
Next articleएक बर्षमा १३३८ क्यान्सर पीडितले लिए सुशील कोइराला क्यान्सर अस्पतालबाट किमोथेरापी सेवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here